काठमाडौं — नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले पोखरा विमानस्थल “को कसले, कति खानलाई” बनाएको भन्ने प्रश्न उठाउँदै, यसमा संलग्न सबैलाई कानुनी कठघरामा ल्याइनुपर्ने धारणा राखेका छन्।
किराँती लेख्छन् – ‘म धरानमा विमानस्थल बनाउन चाहन्थे तर काम भावनाले मात्र हुँदैन रहेछ। सार्वजनिक पद धारण गरेको व्यक्तिले कानुन बमोजिम काम गर्नुपर्ने हुन्छ। यदी कानुन विपरीत कसैले काम गर्छ भने त्यो भ्रष्टाचार हुन जान्छ। कुनैबेला त्यो भ्रष्टाचार प्रमाणित भएपछि निर्णय गर्ने व्यक्ति जेल जानुपर्छ। कुनै पनि ठूला योजनाहरु संचालन गर्नु अगाडि अनिवार्य रूपमा प्राविधिक, आर्थिक, व्यापरिक र वातावरणीय अध्ययन गर्नुपर्छ। अन्यथा त्यो परियोजना चल्दैन। कुनै व्यक्तिले हँचुवाको रूपमा अवैज्ञानिक ढंगबाट ठूलो परियोजना सुरु गर्दा राज्यको सम्पत्ति दुरुपयोग हुन गएको छ। निर्दोष नागरिकको थाप्लोमा ऋण बोक्न नसक्ने गरि थपिएको छ। हाम्रो अगाडी आज पोखरा विमानस्थल चर्चाको शिखरमा छ’, उनले प्रश्न गर्दै भनेका छन्, ‘कति‘कति खानलाई, कस–कसले खानलाई, त्यो विमानस्थल निर्माण भयो ? जे–जति खाए वा खाएनन् त्यो छानबिनले प्रमाणित गर्ला, अनुभवले देखाउँछ खानेहरु समाजमा महान् छन्, खुवाउनेहरु सबै गधा भए। अर्थात् ठूला माछाहरु यतिबेला समुन्द्रमा खेल्दैछन्, खुवाउने साना माछाहरु तेलमा फ्राई हुन लागेका छन्।’
किरातीले आफूले धरानमा विमानस्थल नबनाएर देशको सम्पत्ति दुरुपयोग हुनबाट जोगाएको दाबी गरेका छन्।
‘मलाई देशको सम्पत्ति दुरुपयोग गर्नु थिएन। जनतालाई ऋणको भारी बोकाउनु थिएन। धरानमा विमानस्थल बनाउनु नसकेकोमा म असाध्य दुखी छु तर नबनिने स्थानमा बनिन्छ भन्दै चुनावी नारा बनाएर जनतालाई मुर्गा बनाउने खेलको मैले सदाका लागी अन्त्य गर्न सकेको छु’, उनले थप भनेका छन्।
उनले जिम्मेवारीमा बसेर अब उप्रान्त कसैले पनि भैँसीसँग कुखुराको भाले साट्ने मुर्खता नगरी देश र जनतालाई छातिमा राख्न सुझावसमेत दिएका छन्।
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार













प्रतिक्रिया