काठमाडौं— नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामामाथि गम्भीर प्रश्न उठाएकी छन् । उनले भट्टराईजस्तो सक्षम, इमान्दार र असल नेताले किन पदबाट राजीनामा दिनुपर्यो भन्ने विषयमा पार्टीभित्र चासो बढेको संकेत गरेकी हुन् ।
एमाले सांसद समेत रहेकी भट्टराईले सोमबार शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि पार्टीभित्र त्यसबारे विभिन्न धारणा सार्वजनिक भइरहेका छन्। कतिपय नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाटै सहयोग नपाएको आरोप समेत लगाएका छन् ।
यसै प्रसंगमा उपाध्यक्ष शाक्यले शिक्षक आन्दोलन जारी रहेकै बेला शिक्षामन्त्रीले किन पद त्याग गर्नुपर्यो भनेर प्रश्न उठाउँदै सामाजिक सञ्जालमा लेखेकी छन्, “विद्या भट्टराई सक्षम, इमान्दार, नैतिक रूपमा उच्च मानिएका एक असल नेतृ हुनुहुन्छ, त्यसैले राजीनामा दिनुपर्यो? उहाँलाई आवश्यक सहयोग किन भएन?”
शाक्यले भट्टराईको राजीनामाले उनको नैतिक धरातल कमजोर होइन, अझ उचो बनाएको पनि उल्लेख गरेकी छन्।
उनले लेखेकी छन्, “विद्या! तपाईंको इमान, प्रतिबद्धता र नैतिकता सबैका लागि सधैँ प्रेरणाको स्रोत बनोस् । ”
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार












प्रतिक्रिया