काठमाडौं — राजसंस्थाको पुनर्स्थापनाका लागि संघर्षरत संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले वैशाख २२ गतेदेखि तय गरिएको सामूहिक गिरफ्तारी कार्यक्रम तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सूचनामा गुरुङले धार्मिक अभियन्ताहरूको सहभागीता रहने महत्वपूर्ण प्रतिबद्धता सभामा अवरोध सिर्जना हुन सक्ने भएकाले उक्त कार्यक्रम रोकिएको बताएका छन्।
गुरुङका अनुसार, कार्यवाहक संयोजकको रूपमा जिम्मेवारी सम्हालेपछि उनले विभिन्न दल, समूह तथा युवाहरूसँग सहकार्य गर्दै एकीकृत प्रतिबद्धता सभाहरूको आयोजना गर्दै आएका छन्।
“वैशाख १३ गते शनिबार महिला प्रतिबद्धता सभा हुँदैछ। त्यसपछि वैशाख २० गते गोरखाको भ्रमण तय गरिएको छ। त्यसपछिको चरणमा साधु, सन्त, महन्त तथा धार्मिक अभियन्ताहरूको सहभागीता रहने विशेष प्रतिबद्धता सभा आयोजना गर्ने योजना रहेको छ,” उनले जानकारी दिए। “सामूहिक गिरफ्तारी कार्यक्रमले यस्ता कार्यक्रमहरूमा विघ्न पुग्न सक्ने सम्भावनाका कारण यो निर्णय लिनुपरेको हो,” गुरुङले स्पष्ट पारे।
उनले राजसंस्थाको पुनर्स्थापनाका लागि भइरहेको आन्दोलनलाई अझ सशक्त र संगठित बनाउने उद्देश्यले विभिन्न पक्षहरूबीच एकता कायम गर्ने प्रयास जारी रहेको समेत बताए।
यद्यपि सामूहिक गिरफ्तारी कार्यक्रम हालका लागि स्थगित गरिएको भए पनि अन्य कार्यक्रमहरू तोकिएकै मितिमा यथावत् रूपमा सञ्चालन हुने गुरुङले उल्लेख गरेका छन्।
यसअघि, चैत २७ गते आयोजित पत्रकार सम्मेलनमार्फत गुरुङले वैशाख २२ गतेदेखि देशभर सामूहिक गिरफ्तारी अभियान सुरु गर्ने घोषणा गरेका थिए।
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार













प्रतिक्रिया