एजेन्सी । भारतको जम्मू-कश्मीरस्थित पाहलगाम क्षेत्रमा भएको आतङ्ककारी हमलामा नेपाली नागरिकसहित २८ जनाको ज्यान गएको छ। घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो साउदी अरब भ्रमण छोट्याउँदै स्वदेश फर्कने निर्णय गरेका छन्।

२२ अप्रिल २०२५ मा बैसरान भन्ने स्थानमा सशस्त्र आतङ्ककारीहरूले पर्यटक, स्थानीय बासिन्दा र व्यवसायमा संलग्न मानिसहरूलाई लक्ष्य बनाई अन्धाधुन्ध गोली प्रहार गरेका थिए। घटनामा २२ जना भारतीय पर्यटक, दुई स्थानीय नागरिक, एक जना नेपाली र एक युएई नागरिकको मृत्यु भएको पुष्टि भएको छ। घटनामा ३६ जना घाइते भएका छन्।

advertisement

सामाजिक सञ्जालमा मृत्यु हुने नेपालीको परिचय सुदीप न्यौपानेको रूपमा उल्लेख गरिएको छ, तर घटनाको आधिकारिक पुष्टि अझै गरिन बाँकी छ।

यो भीषण घटनाको जिम्मेवारी पाकिस्तानस्थित आतङ्ककारी संगठन लश्कर-ए-तैयबाको छायाँ समूह ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको छ।

प्रधानमन्त्री मोदीले हमलाको कडा शब्दमा भर्त्सना गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले दोषीहरूलाई कडा कारबाही गरिने र आतङ्कवादविरुद्ध निर्णायक कदम चालिने चेतावनी दिएका छन्। भारतका गृहमन्त्री अमित शाह श्रीनगर पुगेर त्यहाँको सुरक्षा अवस्थाको मूल्याङ्कन गरिरहेका छन्।

यस घटनाप्रति अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिक्रिया आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीर घटनाप्रति दुःख व्यक्त गर्दै भारतलाई अमेरिकाको पूर्ण समर्थन रहेको जनाएका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पलाई घटनाबारे विस्तृत जानकारी दिइएको बताउँदै, उनी चाँडै प्रधानमन्त्री मोदीसँग संवाद गर्ने तयारीमा रहेको जानकारी दिइन्।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका छन्, “कश्मीरबाट आएको दुखद समाचारले मलाई अत्यन्त मर्माहत बनाएको छ। अमेरिका आतंकवादविरुद्ध भारतसँग दृढतापूर्वक उभिनेछ। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”

प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com