काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाललाई तीव्र शब्दमा आलोचना गर्दै आफ्नै दललाई सशक्त बनाउने चुनौती दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत रिमालले भुसालप्रति कटाक्ष गर्दै लेखेका छन्— “अरूलाई आलोचना गरेर मात्रै केही हुँदैन, अब त आफ्नो पार्टीलाई जनताको नजरमा प्रभावशाली र भरोसायोग्य बनाएर देखाउने हो।”
रिमालको भनाइमा भुसालले पछिल्लो समय एमाले र अन्य ठूला दलका नेताहरूमाथि टिप्पणी गर्दै आइरहेका छन्, तर आफ्नो पार्टीको स्थिति भने कमजोर रहेको उनले संकेत गरेका छन्। एक लोकप्रिय युवागायकको गीत उद्धृत गर्दै उनले लेखेका छन्, “तिम्रो त्यो ‘फुरफुरी’ चालले त एकछिन गीतै सम्झाइदियो। तर त्यो गायकलाई त्यो गीतले के भन्न खोजेको हो, त्यो उसैलाई थाहा होस्। मलाईचाहिँ अहिलेका एस भनिने ‘त्यस’ पार्टीका महासचिवको फुर्तीले त्यही गीत झल्झल्याएको छ।”
रिमालले थप प्रश्न गरे, “तपाईं साँच्चिकै महासचिव हो भने, आफ्नै पार्टीलाई चाहेजस्तो, खोजेजस्तो, सोचेजस्तो बनाउनुहोस्। जनताले विश्वास गर्न सक्ने खत्रा पार्टी बनाएर देखाउनुस्। किन अनावश्यक आलोचना र ल्याङल्याङ ?”
उनको यो टिप्पणी, भुसालले मंगलबार काठमाडौंमा नेकपाको ७६औं स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै दिएको वक्तव्यपछि आएको हो। भुसालले उक्त कार्यक्रममा भनेका थिए, “प्रधानमन्त्री वैशाख ११ मा ठूलो भीड जम्मा गर्दैछन्, तर त्यस भीडले ‘आई लभ यु केपी बा’ होइन, ‘हाम्रो हिसाब देऊ केपी बा’ भन्नुपर्ने हो।”
भुसालले संसद् विघटन, पार्टी विघटन र लोकतन्त्रमाथि भएका आक्रमणहरूको आलोचना गर्दै त्यसको जवाफ मागेका थिए
प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार













प्रतिक्रिया