काठमाडौं — सिरहाको बरियारपट्टी गाउँपालिका–४ स्थित तेनवापट्टीमा रहेको दलित बस्तीमा ६० परिवार बसोबास गर्छन् । झण्डै चार सयभन्दा बढी जनसङ्ख्या भएको यो बस्ती दक्षिणतर्फको हुलाकी सडक नजिकै अवस्थित छ।

दुई महिनाअघि गाउँपालिका र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा यहाँ कलधारा निर्माण गरिएपछि गाउँलेहरूलाई पानीको अभावबाट मुक्ति मिलेको छ। बरियारपट्टी गाउँपालिकाका विभिन्न दलित बस्तीमा हालसम्म ४८ वटा कलधारा निर्माण गरिएका छन् ।

advertisement

स्थानीय अधनियादेवी सदायका अनुसार, “अघिसम्म बस्तीका सबै काम एकै कुवाको फोहर पानीमा भर पर्थ्यो—पिउने, नुहाउने, भाँडा माझ्नेदेखि हातमुख धुनेसम्म। अहिले भने पानीको समस्या समाधान भएको छ।” उनले थप भनिन्, “बिहानैदेखि लाइन लागेर पानी भर्नुपर्ने अवस्था हटेको छ, १० वटा कलधारा जडान भएकाले दैनिक जीवन धेरै सहज भएको छ।”

स्थानीय अमरिकाकुमारी सदायले संस्थाले उपलब्ध गराएको कलधाराबाट अहिले सफा पानी पाइरहेको बताइन्। “पहिले फोहर पानी पिउन बाध्य थियौं, अहिले ट्युबवेल जडान भएकाले स्वच्छ पानी आउँछ,” उनले भनिन्।

यसैगरी, वडा नं. २ को खोक्सी दलित बस्तीमा पनि ४० परिवारका लागि २ वटा कलधारा निर्माण भइसकेको छ भने अन्य निर्माण प्रक्रियामा छन्। वडानं १ स्थित नर्गीको दलित बस्तीमा ६ वटा कलधारा निर्माण गरिएका छन्, जसले गर्मीयाममा पानी प्रयोग गर्न सहज बनाएको स्थानीयहरूले बताएका छन् ।

दलित जनकल्याण युवा क्लबका कार्यक्रम संयोजक लालुप्रसाद पोखरेलका अनुसार, बस्तीमा पानीको चरम अभाव रहेको जानकारी पाएपछि एकीकृत जीविकोपार्जन सुधार परियोजनाअन्तर्गत यो पहल सुरु गरिएको हो। “एउटै कुवामा भर पर्नुपर्ने बाध्यता अन्त्य गर्न हामीले सहयोग गरेका हौं,” उनले भने, “त्यससँगै जीविकोपार्जन, आम्दानी, सरसफाइ, स्वच्छता तथा समुदाय सशक्तीकरणका कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौं।”

उनका अनुसार कलधाराको लागत प्रतिवटा रु ३० हजारदेखि ६० हजारसम्म परेको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामजुलुम मण्डलले दलित तथा विपन्न समुदायको जीवनस्तर उकास्न विभिन्न संस्थासँग सहकार्य गर्दै निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com