धरान– ११ स्थित नगरकोट टोल विकास संस्थाका अध्यक्ष सन्तोष लिम्बूले धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ, वडा नं ११ का वडाध्यक्ष लोकेन्द्र फागो र चङ्खे उपनामले चिनिने जोन लिम्बूविरुद्ध अभद्र व्यवहारको आरोपमा उजुरी दिएका छन्।
नगरकोट–बानडाँडा सडक स्तरोन्नतिको लागि प्रदेश सरकारले विनियोजन गरेको २० लाख रुपैयाँको बजेटमा मास्तिरको भागमा मात्र काम हुने भएपछि विवाद उत्पन्न भएको हो । सो विवाद समाधान गर्न मेयर साम्पाङ सोमबार आउने बताएका थिए, तर उनी सोमबार नआइ मङ्गलबार मात्रै निर्माणस्थल पुगे ।
पीडित लिम्बूका अनुसार विवाद सुल्झाउनुको सट्टा मेयरले उल्टै तनाव सिर्जना गरे। “मेयरकै उपस्थितिमा उनका समर्थकले ममाथि हातपात गर्न खोजे,” लिम्बूले भने, “त्यसैले मैले कानुनी उपचारको बाटो रोजेको हुँ। ”
स्रोतअनुसार, सोमबार लिम्बू र मेयर साम्पाङबीच भनाभन भएको थियो। त्यस क्रममा मेयरले लिम्बूसँग हैसियत सोधेका थिए। लिम्बूले आफू सामान्य नागरिक भएको बताएपछि साम्पाङ आक्रोशित हुँदै “तपाईं के गर्नुहुन्छ ? ” भन्दै प्रतिक्रिया जनाएका थिए। त्यसपछि उनका समर्थक जोन लिम्बूले सन्तोष लिम्बूमाथि आक्रमण प्रयास गरेका थिए। साम्पाङले त्यो घटनामा मौन बसेको आरोप छ।
लिम्बूका अनुसार, सो सडक स्तरोन्नति कार्यका लागि आएको बजेट उनीकै पहलमा आएको हो। सडक निर्माणको जिम्मा कोशी प्रदेश अन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको कार्यालयले लिएको थियो।
सन्तोष लिम्बू नेकपा माओवादी केन्द्रका कार्यकर्ता हुन्। उनले धरान इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिई दोषीमाथि कारबाहीको माग गरेका छन्।
प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार













प्रतिक्रिया