काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नेपालको नागरिक स्वतन्त्रताको सबैभन्दा ठुलो शत्रु भएको आरोप लगाएका छन्। केही दिनअघि पूर्वराजा शाहले “नागरिक स्वतन्त्रता भन्दा माथि कुनै तन्त्र वा वाद हुँदैन” भन्ने अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै पहाडीले इतिहासले नै शाहलाई नागरिक स्वतन्त्रताविरोधी पात्रका रूपमा स्थापित गरिसकेको बताए।
बुधबार राजधानीमा आयोजित १९औँ लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पहाडीले मुलुकमा लोकतन्त्र केही दर्जन भ्रष्ट नेताहरूका कारण संकटमा परेको बताए। उनले दागी र गैरजिम्मेवार नेताहरूलाई कडाभन्दा कडा कारबाही गरेर मात्र सुशासन र लोकतन्त्र सुदृढ गर्न सकिने धारणा राखे।
हाल जारी शिक्षक आन्दोलनतर्फ संकेत गर्दै उनले विगतमा शिक्षकहरूसँग भएका सहमति र सम्झौताहरू तत्काल कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे।
कार्यक्रममा २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा विशेष योगदान पु-याएका नागरिक अगुवा कृष्ण खनाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, नेपाल मेडिकल एसोसिएसनका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसी, कवि अर्जुन पराजुली र नन्दकृष्ण जोशीले पनि सहभागिता जनाएका थिए। उनीहरूले लोकतन्त्र दिगो बनाउनका लागि खराबलाई दण्ड र असललाई पुरस्कार दिनु अपरिहार्य रहेको धारणा राखे।
प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार













प्रतिक्रिया