एजेन्सी । भारतले चालेका कदमहरूमा पाकिस्तानले तुरुन्तै प्रतिक्रिया दिन नचाहेको पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बताएका छन् । बीबीसी उर्दूका अनुसार एक पाकिस्तानी च्यानलसँग कुरा गर्दै उनले यस्तो भनेका हुन् ।
भारतमा मङ्गलवार भएको घटना निन्दनीय भएको र आतंकवादलाई कुनै पनि हिसाबले समर्थन गर्न नसकिने उनको भनाइ थियो । पहलगाम आक्रमणको विरोधमा भारतले सिन्धु जल सन्धि सम्झौता खारेज गरेको थियो । भारतले लामो समयदेखि यसबाट बाहिर निस्कन चाहिरहेको रक्षामन्त्री ख्वाजा आसिफले भने।
तर कुनै पनि भारतीय आक्रमणको उचित जवाफ दिने पूर्ण स्थितिमा पाकिस्तान रहेको पनि उनले बताए । भारतले हवाई क्षेत्र उल्लङ्घनको लागि अभिनन्दनको रूपमा दिइएको जवाफलाई याद राखिने पनि उनले भने ।
भारतको संरक्षणमा बलुचिस्तानमा आतङ्कवाद फस्टाउँदैछ । जाफर एक्सप्रेस घटनामा के भयो भन्ने सबैलाई थाहा छ । भारतले पृथकतावादीहरूलाई आश्रय दिएको छ । बलुचिस्तानका पृथकतावादीहरू उपचारको लागि भारत जान्छन् । यसको धेरै प्रमाणहरू छन्’ पाकिस्तानका रक्षामन्त्रीले भनेका छन् ।
पहलगाम घटनाको लागि भारतले अरूलाई दोष दिनुको सट्टा आफैँलाई जिम्मेवार बनाउनुपर्ने ख्वाजा आसिफले बताए । ‘यो पनि सम्भव छ कि पहलगाम आक्रमण भारत आफैँले गरेको झूटा अभियान थियो’ उनले भने । अझ अगाडि उनले भनेका छन्, ‘कसैले भारतलाई सोध्नुपर्छ कि यदि कश्मीरमा निर्दोष मानिसहरू मारिरहेका छन् भने दशकौँदेखि त्यहाँ उपस्थित सात लाख सैनिकहरू के गरिरहेका छन् ?’
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया