काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई नियोजित रूपमा ‘बलिको बोको’ बनाउने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध आवाज उठाउन अपिल गरेका छन्।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै श्रेष्ठले मिश्रको पक्षमा निष्पक्ष रूपमा बोल्नुपर्ने आवश्यकता औंल्याएका हुन्। उनले भनेका छन्, “रवीन्द्र मिश्रसँग लामो समयदेखि चिनजान भए पनि राप्रपामा सहकार्यपछि हाम्रो सम्बन्ध अझै प्रगाढ र आत्मीय बनेको हो। उहाँ आपराधिक सोच वा पृष्ठभूमिका व्यक्ति नभएको कुरा सबैलाई थाहा छ।”
श्रेष्ठले मिश्र देशप्रति समर्पित व्यक्ति भएको उल्लेख गर्दै लेखेका छन्, “उहाँमा देश जोगियोस्, देश समृद्ध बनोस् भन्ने सच्चा चाहना देखिन्छ, अरू कुनै स्वार्थ कहिल्यै देखिएको छैन।”
चैत १५ गते तीनकुनेमा भएको घटनालाई उनले केवल संयोग मात्र नभई ‘सुनियोजित योजना’को परिणाम रहेको दाबी गर्दै निष्पक्ष न्यायिक छानबिनको माग गरेका छन्।
“रवीन्द्रजीलाई बलिको बोको बनाउने खेल चलिरहेको छ,” श्रेष्ठले लेखेका छन्, “यसको यथार्थ बाहिर आउनुपर्छ। निष्पक्ष व्यक्ति, संस्था र समूहहरूले उहाँको पक्षमा स्पष्ट रूपमा बोल्न र लेख्न जरुरी छ।”
श्रेष्ठले निष्पक्षताको पक्षमा उभिन सबैलाई आग्रह गर्दै सत्यको खोजीमा साथ दिनुपर्ने बताएका छन्।
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया