काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँग हुन लागेको पार्टी एकतालाई असफल बनाउन विभिन्न शक्तिहरू लागिपरेको गम्भीर आरोप लगाएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको अभिव्यक्तिमा राउतले आफू र पार्टीका अन्य नेताहरूलाई धम्की दिइएको, पार्टी फुटाउने प्रयास गरिएको तथा अनेकौं षड्यन्त्रहरू रचिएको उल्लेख गरेका छन्।

advertisement

राउतका अनुसार जनमत र नाउपा दुवै जनआन्दोलन र जनताको प्रतिनिधित्वबाट उठेका शक्तिशाली राजनीतिक दल हुन्, जुन एकतामा जाँदा स्थापित सत्ता प्रणाली र परम्परागत दलहरूलाई असहज भइरहेको छ। उनले लेखेका छन्, “धेरै शक्तिहरूको अहिले निद्रा उडेको छ, किनभने जनताको पक्षमा काम गर्ने नयाँ शक्तिशाली पार्टी उदाउने अवस्थामा छ।”

उनले एकताविरोधीहरू विगत ७–८ महिनादेखि निरन्तर प्रयासरत रहेको बताउँदै, पारिवारिक झगडादेखि लिएर पार्टीभित्र पैसाको लोभ देखाउने, गाडी र स्रोतसाधनको प्रलोभन दिने, मिडियामा बदनाम गर्ने, धर्म र जातको नाममा हमला गराउने, पार्टी सदस्यहरू खरिद गर्न खोज्ने, यहाँसम्म कि आफूलाई ज्यान मार्ने धम्की र रेशम चौधरीलाई पुनः पक्राऊ गराउने प्रयाससम्म भएको दाबी गरेका छन्।

“कुनै पनि कसर बाँकी राखिएको छैन,” राउतले स्पष्ट रूपमा लेखेका छन्, “तर जनमत पार्टी नआत्तिएको छ। तपाईँहरू पनि नआत्तिनुहोस्। हामी जनताको भावना र आकांक्षाको आधारमा एकताको दिशामा अगाडि बढ्नेछौँ। एकता हुन्छ नै।”

उनले वैशाख २७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकताको औपचारिक घोषणा गरिने जानकारी समेत दिएका छन्।
राउतको यो अभिव्यक्तिले नेपाली राजनीतिक वृत्तमा चासो बढाएको छ, विशेषतः मधेस केन्द्रित राजनीतिमा यो एकता निर्णायक मोडको संकेत हुन सक्ने देखिएको छ।

प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com