काठमाडौं । ऊर्जा राज्यमन्त्री पदबाट बर्खास्त भएका पूर्णबहादुर तामाङमाथि एमाले नेता महेश बस्नेतले गम्भीर आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै बस्नेतले तामाङले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि २० करोड रुपैयाँको लेनदेनको प्रयास गरेको प्रमाण भेटिएको दाबी गरेका छन्। उनले तामाङले विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग मिलेर अर्बौं रुपैयाँको ठेक्कामा अनियमितता र मिलेमतो गरेको आरोप पनि लगाएका छन्।
बस्नेतका अनुसार यस्ता आर्थिक अनियमितता र पदको दुरुपयोगका कारण तामाङलाई पदबाट हटाइएको हो। उनले भ्रष्टाचारविरुद्ध कडाइका साथ लाग्नुपर्ने भन्दै दोषीहरूमाथि कडा कारबाहीको माग पनि गरेका छन्।
यस्तो छ उनको स्टाटसः
ठेकेदार कान्छाराम उर्फ पूर्णबहादुर- जसको नाममा २० भन्दा बढी योजना कालोसूचीमा छ । सारा ठेक्का सेटिङमा पार्छ र काम चोरेर अलपत्र गर्छ ।
ऊर्जा राज्यमन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौँको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गर्छ । अझै खतरनाक कुरा त राष्ट्र बैकको गभर्नर नियुक्तिका लागि २० करोड डिल गरेको प्रमाण फेला परेपछि प्रधानमन्त्रीज्यूले बर्खास्त गर्नुभयो ।
तर जो चोर उसकै ठुलो स्वर भने झैं अचेल कान्छाराम मिडियामा प्रधानमन्त्रीविरुद्ध राजनीतिक आडमा पद फुस्केपछि अनावश्यक आरोप लगाएर नौटङ्की गरिरहेको छ । याद गरेसः एमालेको पङ्क्तिको हातमा पनि दही जमेर बसेको छैन । अब समय आयो । भ्रष्ट र बेइमानहरूको पर्दाफास गरौँ । इमान्दार नेतृत्व र युवा पुनर्निर्माणको लागि प्रधानमन्त्रीज्यूले चालेको कदम सँगै उभियौँ । साथ दिऊँ, परि आए ज्यान दिऊँ ।
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया