काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई वर्तमान सरकारको स्थायित्वभन्दा पनि आगामी निर्वाचनप्रति चिन्तित हुन आग्रह गरेका छन्।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘युथ सेलिब्रेशन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकार स्थायित्व र स्थिरताको उद्देश्यसहित गठन भएको स्पष्ट पारे । “नेकपा एमाले र कांग्रेसको गठबन्धन सरकारले एक साझा संकल्पसहित काम गरिरहेको छ। यो सरकार स्थायित्वका लागि बनेको हो। त्यसैले सरकारको अवस्था होइन, अब हुने निर्वाचनप्रति चिन्ता गर्नुपर्छ,” उनले भने।
प्रधानमन्त्री ओलीले नेकपा एमालेले सरकार जोगाउने भन्दा पनि सधैं चुनावलाई प्राथमिकतामा राख्ने पार्टी भएको बताए।
“हामी ‘सरकार बनाऔं, सरकार जोगाऔं’ भन्ने पक्षमा होइनौं। एमाले सधैं चुनावतर्फ केन्द्रित हुन्छ। हामीले २०७० को चुनावमा जित्ने संकल्प गर्यौं, अहिले २०८४ को चुनावतर्फ अघि बढ्नुपर्छ। ढुक्क भएर मिसन ८४ मा लाग्नुस्,” उनले जोड दिए।
सरकार ढल्ने चर्चा भइरहेका बेला उनले अहिलेको गठबन्धन दीर्घकालीन स्थायित्वको आधारमा बनेको बताएका छन्।
“कतिपयले ‘सरकार जान्छ’ भनेर अनुमान गरिरहेका छन्। तर लोकतान्त्रिक प्रणालीमा सरकार पाँच वर्षका लागि बनाइन्छ, यो कुनै निरंकुश शासन होइन। स्थिरता भनेको जनताको अभिमतमा आधारित स्थिरता हो, व्यक्तिवादी वा वंशवादी शासन होइन,” उनले स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले संविधान र संसद्को संरचना अनुसार नेकपा एमालेले राष्ट्रलाई अगाडि बढाउने जिम्मेवारी बहन गर्ने बताउँदै भने, “सरकारको चिन्ता गर्नु पर्दैन, अब मिसन ८४ मा ध्यान केन्द्रित गर्नुस्।”
प्रकाशित मिति: ११ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया