काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन्।

संघीय संसद् अधिवेशन सुरु हुने अवसरमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई सम्बोधन गर्ने तयारी गरिएको थियो। तर, प्रमुख नेताहरू बैठकमा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित गरिएको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

advertisement

बर्तौलाका अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको बारपाकमा रहेका कारण संसद् बैठकमा सहभागी हुन सकेनन्। भूकम्प गएको १० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड बिहीबार नै बारपाक गएका हुन्।

‘प्रधानमन्त्रीले भन्नुभएको छ— यदि प्रमुख प्रतिपक्षी दलका नेता उपस्थित नहुने हो भने म सम्बोधन गर्दिनँ। उहाँ अर्को दिन बोल्नुहुन्छ,’ बर्तौलाले भने, ‘संसद्मा बोल्दा प्रतिपक्षी दलका नेता पनि उपस्थित हुनु पर्‍यो भन्ने परम्परा छ। अघिल्लो पटक प्रतिपक्षी नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुन नसकेको प्रसंग पनि छ।’

त्यसैगरी, सत्ता गठबन्धनका शीर्ष नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि स्वास्थ्य उपचारका लागि थाइल्याण्डमा रहेका कारण बैठकमा सहभागी हुन नसक्ने अवस्था छ।

‘शेरबहादुर देउवाको अनुपस्थिति पनि अर्को कारण हो। त्यसैले प्रधानमन्त्रीको सम्बोधन अर्को दिनका लागि सारिएको हो,’ बर्तौलाले स्पष्ट पारे।

प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com