विराटनगर। विराटचोक सडक खण्डमा पर्ने  सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा शुक्रबार दिउँसो भएको सडक दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ। विराटनगर– उक्त स्थानमा तीव्र गतिमा आइरहेको टिपरले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीको दुहबी नगरपालिका–९ निवासी ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको हो।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार, ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

advertisement

दुर्घटनापछि आक्रोशित स्थानीयवासीले टिपरमाथि आगजनी प्रयास गरेका थिए भने मृतकको शव उठाउन समेत अवरोध गरेका थिए। भिडले घटनास्थलबाट टिपर हटाउने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नु परेको थियो। भीड नियन्त्रण गर्न प्रहरीले ९ राउन्ड अश्रुग्याँस र ८ राउन्ड हवाई फायर गरेको जनाएको छ।

ढुंगामुढाका क्रममा डिएसपी जोशीको टाउकोमा चोट लागेको छ।

स्थानीयले टिपरको तीव्र गति र लापरवाहीका कारण दुर्घटना भएको भन्दै विरोध प्रदर्शन गरेका थिए। उनीहरूले टिपर सञ्चालनमा तत्काल रोक लगाउनुपर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, चालकलाई कारबाही गर्नुपर्ने जस्ता माग राखेका छन्।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न टिपर कान्छाराम कन्स्ट्रक्सनको हो, जसलाई विराटनगरका अभिषेक गिरीले भाडामा लिएर निर्माण सामग्री ढुवानीका लागि प्रयोग गर्दै आएका थिए।

टिपर चालक बारा कोल्बी निवासी २५ वर्षीय पवन योन्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी हाल सुन्दरहरैँचा–१२ मा डेरा गरी बस्दै आएका थिए।

मृतकको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

हाल घटनास्थलको अवस्था शान्त रहेको जनाइएको छ।

प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com