काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्क्रिय भूमिकामाथि गम्भीर प्रश्न उठाएकी छन्।

शनिबार पत्रकारहरूसँगको अन्तरक्रियामा उनले हाल महानगरमा उठिरहेको भ्रष्टाचार सम्बन्धी विवादको पृष्ठभूमिमा अख्तियारले तत्काल निष्पक्ष छानबिन थाल्नुपर्ने धारणा राखिन्। मेयर बालेन्द्र साह (बालेन)ले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलगायत केही कर्मचारीहरूलाई लक्षित गर्दै बारम्बार गम्भीर आरोप लगाइरहेका बेला उपमेयर डंगोलले त्यसबारे सत्यतथ्य बाहिर ल्याउन अख्तियारले चुप लागेर बस्न नहुने बताइन्।

advertisement

‘यति धेरै भ्रष्टाचारको प्रसंग उठिरहेको छ, तर अख्तियार भने मौन छ,’ डंगोलको भनाइ थियो, ‘महानगरमा साँच्चिकै भ्रष्टाचार भएको हो वा होइन भन्ने छानबिन गरेर यथार्थ सार्वजनिक गर्नुपर्छ। यदि व्यक्तिविशेष मात्र दोषी हो भने त्यो पनि स्पष्ट हुनुपर्छ, र यदि संगठित रूपमा भ्रष्टाचार भइरहेको छ भने त्यो झन् गम्भीर विषय हो।’

त्यस्तै, उनले हालै सार्वजनिक गरिएको महानगरको बोर्ड बैठकको भिडियो अपूर्ण र एकपक्षीय रहेको भन्दै आपत्ति जनाउँदै भनिन्, ‘अधुरो सूचना दिएर जनतालाई भ्रममा पार्नु हुँदैन।’

काठमाडौं टावर अनावश्यक,

अर्कोतर्फ, उपमेयर डंगोलले पुरानो बसपार्क क्षेत्रमा निर्माण भइरहेको काठमाडौं टावरलाई अनावश्यक भन्दै यसको कडा आलोचना गरिन्। उक्त स्थान जनता र सार्वजनिक हितका लागि बसपार्क बनाउन लिइएको जग्गा भएको स्मरण गराउँदै उनले भनिन्, ‘जनताको नाममा लिएको जमिनमा निजी व्यापारिक संरचना ठड्याउनु सरासर गलत हो।’

उनको स्पष्ट भनाइ थियो, ‘सरकारले जुन प्रयोजनका लागि त्यो भूमि अधिग्रहण गरेको थियो, त्यसै प्रयोजनमा प्रयोग हुनुपर्छ। काठमाडौं टावर आवश्यक नभएको र यसको निर्माण जनहितविपरीत भएको मैले पहिले पनि भनेको थिएँ, आज पनि त्यही दोहोर्याउँछु।’

उपमेयर डंगोलको तर्कमा, विकासका नाममा जनताको आवश्यकता ओझेलमा पार्नु हुँदैन र “पिपुल्स फर्स्ट” भन्ने सिद्धान्तलाई व्यवहारमा उतार्न सबैले उत्तरदायी हुनुपर्छ।

प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com