काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले विधेयकमा कुनै कमजोरी भए सच्याएर मात्र पारित गर्न सक्ने क्षमताको प्रदर्शन गर्नुपर्ने बताएका छन्। शनिबार (वैशाख १३) नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सांसदहरूलाई विधेयकको गुणस्तरप्रति गम्भीर बन्न निर्देशन दिएका हुन्।
उनले चालु संसद् अधिवेशनमा राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिलाई मार्गदर्शन गर्ने खालको बजेट ल्याइने जानकारी गराए। उक्त बजेटले मुलुकलाई कुन दिशा र कसरी अघि बढाउने भन्ने विषयमा स्पष्ट मार्गनिर्देशन गर्ने उनले उल्लेख गरे। राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर काम गर्न उनले सांसदहरूलाई आह्वान गरे।
ओलीले चालु अधिवेशनमा धेरै विधेयकहरू पारित गर्नुपर्ने आवश्यकता औँल्याए। तर, जस्तोसुकै विधेयक पारित गर्नु हुँदैन भन्दै उनले पार्टी सांसदहरूलाई सावधानी अपनाउन आग्रह गरे। उनले राम्रो विधेयकलाई मात्र समर्थन गर्नुपर्ने र त्रुटिपूर्ण विधेयकले देशलाई वैचारिक र व्यवहारिक रूपमा गलत दिशामा लैजाने खतरा हुने चेतावनी पनि दिए।
“जुनसुकै विधेयक जसरी पनि पास गरिदिने होइन। केवल पास गर्नु त हो भनेर लापरवाही गर्नु हुँदैन। हामी अत्यन्तै सजग र सचेत हुनुपर्छ,” ओलीले भने, “देश र जनताको हितमा मात्रै विधेयक पारित गर्नुपर्छ।”
प्रकाशित मिति: १३ बैशाख २०८२, शनिबार












प्रतिक्रिया