काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणिन्द्रराज पाठकमाथि कानुनी कारबाहीको माग गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गैरेले शनिबार संवाद सचिव डा. पाठकको तर्फबाट जारी गरिएको संवेदना वक्तव्यप्रति आपत्ति जनाए। उक्त वक्तव्यमा “श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सिएको संवेदना सन्देश” भनेर उल्लेख गरिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

advertisement

“१३ गतेको दिन अत्यन्तै लज्जास्पद र संविधानविपरीतको एउटा वक्तव्य सार्वजनिक भयो,” गैरेले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा ‘श्री ५ महाराजधिराज’ भन्ने शब्द प्रयोग गर्नु संविधान र लोकतन्त्रको उपहास हो।”

सांसद गैरेले वर्तमान संविधानले राजतन्त्र समाप्त गरिसकेको र अब त्यस्ता उपाधिहरूको कुनै वैधानिक मान्यता नरहेको स्पष्ट पारे। “आजको नेपालको संविधान र व्यवस्था अनुसार ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव’ भन्ने कुनै हैसियत छैन,” उनले प्रश्न गर्दै थपे, “त्यो शब्दावली प्रयोग गर्नु कसरी सम्भव भयो? यो सह्य हुन्छ कि हुँदैन?”

संविधानको सर्वोच्चता र कानुनी शासनको सम्मान गर्न सबैलाई आग्रह गर्दै गैरेले संविधानको उल्लंघन गर्ने कसैलाई पनि उन्मुक्ति नदिन चेतावनी दिए। उनले संवाद सचिव डा. पाठक र उक्त संवेदना सन्देश बक्सिएका पूर्वराजा ज्ञानेन्द्र शाह दुवैलाई संविधान र कानून बमोजिम कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरे।

“संवाद सचिवको हैसियतमा डा. फणिन्द्रराज पाठकले जुन संवेदना जारी गरे र त्यसमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट बक्सिएको भनी उल्लेख गरिएको छ, यो संविधानको उल्लंघन हो,” गैरेले भने, “त्यसैले, सरकारलाई यो सदनमार्फत् पूर्वराजा र संवाद सचिव दुवैलाई तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराउन चाहन्छु।”

प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com