काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अमरेश सिंहले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीजस्ता सार्वजनिक पदमा प्राप्त हुने विदेशी उपहारहरूको संरक्षणका लागि संग्राहलय स्थापना गर्नुपर्ने प्रस्ताव राखेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै डा. सिंहले पदको नाममा प्राप्त उपहार नेताहरूले आफ्नो घरमा लैजानु मानसिक भ्रष्टाचार भएको टिप्पणी गरे। उनले हाल नेपालका पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपति र पूर्वपरराष्ट्रमन्त्रीहरूको घरमा पदमा रहँदा विदेशी कूटनीतिज्ञहरूले दिएका उपहारहरू भेटिने तथ्य उल्लेख गरे ।
“राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको पद सार्वजनिक हो कि व्यक्तिगत?” उनले प्रश्न गर्दै भने, “यदि सार्वजनिक हो भने विदेशी कूटनीतिज्ञले दिएको उपहार नेताको व्यक्तिगत सम्पत्ति होइन, राष्ट्रको सम्पत्ति हो। तर अहिले ति उपहारहरू नेताहरूको घरमा भेटिन्छन्, जुन मानसिक भ्रष्टाचार हो। यदि निजी बनाउनै हो भने विदेश जाँदा आफ्नै सम्पत्तिबाट उपहार दिनुपर्छ ।”
डा. सिंहले छिमेकी भारतमा प्रधानमन्त्रीलाई दिइएका सबै उपहारहरू राख्नका लागि छुट्टै संग्राहलय रहेको उदाहरण दिँदै नेपालमा पनि यस्तो व्यवस्था तत्काल गर्नुपर्नेमा जोड दिए ।
“राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री पदमा प्राप्त उपहार राष्ट्रको सम्पत्ति हो। त्यसका लागि संग्राहलय बनाऔं। भारतमा प्रधानमन्त्रीको उपहारहरूका लागि अलग संग्राहलय छ। हामीले पनि मानसिक भ्रष्टाचारको अन्त्य गर्नुपर्छ,” उनले दोहोर्याउँदै भने ।
प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार












प्रतिक्रिया