काठमाडौं । तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईं लगायतका व्यक्तिहरूको थुनामै थप म्याद लिन काठमाडौं जिल्ला अदालतमा पेश गरिँदैछ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार, पछिल्लो पटक १० वैशाखमा अदालतबाट तीन दिनको म्याद थप गरिएको थियो। उक्त अवधि सकिएकोले आइतबार पुनः म्याद थपका लागि उनीहरूलाई अदालत उपस्थित गराइँदैछ।
यसअघि अदालतले मिश्र र प्रसाईंको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै थुनामा संवेदनशीलता अपनाउन निर्देशन दिएको थियो। साथै, उनीहरूले हाजिरी जमानीमा रिहा हुन माग गर्दै पेश गरेको निवेदनलाई समेत विचार गर्दै अदालतले मात्र तीन दिनको अतिरिक्त थुनाको अनुमति दिएको थियो। प्रहरी र सरकारी वकिलको कार्यालयले भने २० दिनको म्याद माग गरेका थिए।
तीनकुनेमा आयोजित राजावादी प्रदर्शनमा सक्रिय रहेको आरोप लागेका दुर्गा प्रसाईंमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहजस्ता गम्भीर अभियोगहरू लगाइएको छ। रवीन्द्र मिश्रविरुद्ध भने राजद्रोह र संगठित अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको छ।
यसैबीच, तीनकुनेस्थित एक घरमा आगजनी गर्ने घटनामा संलग्न व्यक्तिहरूविरुद्ध पनि कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार












प्रतिक्रिया