काठमाडौं । आइतबार दिउँसो शिक्षक आन्दोलनको रिपोर्टिङ गर्दै गर्दा घाइते भएकी पत्रकार सबिना कार्कीलाई अहिले तिलगंगा आँखा अस्पतालमा उपचार गरिँदै छ। प्रहरी र शिक्षकबीचको झडपका क्रममा उनी घाइते भएकी हुन्।
घटनापछि तत्कालै उनलाई बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको थियो। त्यहाँबाट चिकित्सकले थप उपचारका लागि ट्रमा सेन्टर रिफर गरे पनि आँखामा गम्भीर चोट देखिएपछि अन्ततः तिलगंगा आँखा अस्पताल लगिएको हो।
झडपका बेला सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले कार्कीलाई बोक्दै नजिकैको प्रहरी गाडीसम्म पुर्याएर अस्पताल पठाएका थिए। घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
कार्की प्राइम टेलिभिजनमा कार्यरत पत्रकार हुन्। प्राइम टेलिभिजनका पत्रकार रवि महर्जनका अनुसार प्रहरीले प्रयोग गरेको पानीको फोहोराले कार्कीको आँखामा चोट लागेको हो।
“अहिले तिलगंगा अस्पतालमा उपचार भइरहेको छ। आँखाको परेलामुनि शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको छ,” महर्जनले भने ।
अस्पतालको आकस्मिक कक्षमा समेत उपचारका लागि आधा घण्टासम्म कुर्नु परेको महर्जनले बताए । उनले भने – ‘अस्पतालको आकस्मिक कक्षमा समेत आधाघण्टा सम्म उपचार सुरु भएन, यो अस्पतालको गम्भीर लापरबाही हो।’
शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज आन्दोलनको २६ औं दिन काठमाडौंमा प्रदर्शन गरेका थिए। निषेधित क्षेत्रतर्फ बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नु परेको जनाएको छ।
तर शिक्षक महासंघका नेताहरूले आफूहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहेको दाबी गर्दै सरकारले सुनियोजित रूपमा घुसपैठ गराएर झडपको अवस्था सिर्जना गरेको आरोप लगाएका छन्।
प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार













प्रतिक्रिया