काठमाडौं । वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा अनुसन्धान सम्पन्न गरी प्रहरीले फाइल सरकारी वकिल कार्यालयमा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रका अनुसार अनुसन्धान प्रतिवेदन गत शुक्रबार सरकारी वकिल कार्यालयमा पेश गरिएको हो। उक्त प्रतिवेदनमा १ अर्ब १२ करोड ६५ लाख ५५ हजार २६ रुपैयाँ बिगो मागदाबी गर्नुपर्ने राय दिइएको छ।
अनुसन्धानमा ३० जना व्यक्ति र ११ वटा संस्था गरी ४१ जना प्रतिवादी बनाइ मुद्धा दायर गर्न सिफारिस गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि मात्रै ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ। लामिछाने अहिले रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका छन्।
त्यस्तै, सोही सहकारी प्रकरणमा भैरहवा कारागारमै रहेका पूर्वडीआईजी छविलाल जोशीसँग ३ करोड २४ रुपैयाँ बिगो माग गरिएको छ।
सहकारी ठगीका मुख्य नाइकेका रूपमा फरार रहेका जीबी राईविरुद्ध १० करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। यस्तै, थुनामा रहेका वीरगञ्ज महानगरपालिकाका मेयर देवकुमार नेपालीमाथि १५ करोड ५३ लाख रुपैयाँ बिगो माग गरिएको छ।
प्रहरीको अनुसन्धान प्रतिवेदनमा सहकारी ठगी र संगठित अपराध अन्तर्गत मुद्दा दायर गर्नुपर्ने सिफारिस गरिएको छ। भने, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भने अझै जारी रहेको प्रहरीले जनाएको छ।
सानो पाइला सहकारीका पूर्व संरक्षक तथा सञ्चालक जीबी राईको नेतृत्वमा करिब ८ सय बचतकर्ताबाट १ अर्ब ३५ करोड रुपैयाँ बचत संकलन गरिएको थियो। तर सहकारी ऐनविपरीत, वीरगञ्ज बाहिरका सदस्यता नलिएका व्यक्तिहरूलाई समेत ऋण प्रवाह गरी करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर लगानी गरेर अपचलन गरिएको आरोप छ।
अनुसन्धानका क्रममा नेचर हब इन्टरनेसनललाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रिङ वुड रियल स्टेटलाई १ करोड १ लाख रुपैयाँ ऋण दिइएको पाइएको छ।
यस्तै, विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा १ करोड ८६ लाख, तीर्थराज लामिछानेको नाममा १ करोड ६ लाख र विमला पौडेलको नाममा २ करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरिएको अनुसन्धान प्रतिवेदनले देखाएको छ।
प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार












प्रतिक्रिया