काठमाडौं —  नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आन्दोलनरत शिक्षकहरूलाई सतर्क रहन आग्रह गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले खल्तीमा सधैं सलाइ बोकेर हिँड्ने र मौका पाएलगत्तै आगो बालेर रोटी सेकाउने प्रवृत्तिबाट जोगिन चेतावनी दिएका हुन्।

ज्ञवालीले आन्दोलनको सुरूवातमा देखिएको राप र ताप विस्तारै सेलाउँदै गएको र अभिभावकहरू बीचमा अधैर्यता बढ्दो रहेको उल्लेख गर्दै छिटो समाधान खोज्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन्।

advertisement

‘शिक्षक साथीहरूलाई आग्रह छ — खल्तीमा जहिल्यै सलाइको बट्टा बोकेर हिँड्ने र मौका पाउनासाथ आगो झोसेर रोटी सेकाउने प्रवृत्तिसँग होशियार हुनुहोस्। आन्दोलनको प्रारम्भिक उर्जा घट्दै गएको छ र अभिभावकहरूको अधैर्यता बढ्दै गएको छ। यस्तो अवस्थामा लाभ उठाइरहेको पक्ष भनेको निजी विद्यालयहरू मात्रै हुन्,’ ज्ञवालीले लेखेका छन्।

उनले चेतावनी दिँदै भनेका छन्, ‘यदि आन्दोलनको स्वरूप परिवर्तन नगरी “निर्णायक धक्का” को भ्रममा अल्मलिइरहने हो र “बंगलादेश बनाइदिन्छौं” भन्ने भाषामा अघि बढिरहने हो भने, थप क्षति हुनु निश्चित छ।’

ज्ञवालीले शिक्षा मन्त्री विद्या भट्टराईको पहलमा तयार पारिएको ७ बुँदे सहमतिलाई सार्वजनिक गर्न रोकिएको प्रसंग पनि उठाएका छन्। उनले सोधेका छन्, ‘शिक्षा मन्त्रीको पहलमा तयार भएको सहमति किन र कसरी आग्रहमा रोकियो, के त्यो पनि खुलाउनु पर्ने होइन र? आखिर त्यसबाट फाइदा कसलाई भयो?’

उनले सरकारलाई आग्रह गर्दै भनेका छन्, ‘विद्यमान सीमाभित्र जे घोषणा गर्न सकिन्छ, तुरुन्त घोषणा गरियोस्। साथै, त्यससम्बन्धी सत्यतथ्यलाई सर्वोच्च अदालत, संसद, अभिभावक तथा सम्पूर्ण समाजलाई जानकारी गराइयोस्।’

प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com