काठमाडौं — नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनलाई ‘सहमहामन्त्रीका छोराले रक्सी चोरेको’ भनी दिएको अभिव्यक्तिको प्रमाण माग गरेकी छन्। उनले उक्त अभिव्यक्ति प्रमाणित गर्न वा फिर्ता लिन लिङ्देनलाई खुला चुनौती दिएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गौतमले लिङ्देनद्वारा व्यक्त गरिएको आरोप कपोकल्पित, भ्रामक र तथ्यहीन भएको बताइन्।
‘चैत १५ गते आपराधिक मनसायले ग्रसित भीडले व्यक्तिगत सम्पत्ति, पार्टी कार्यालय र भाटभटेनी स्टोरमा आगजनी, तोडफोड तथा लुटपाट गरेका घटनालाई ढाकछोप गर्न र विषयान्तर गर्न राप्रपा अध्यक्षले सदनमै कांग्रेसका सहमहामन्त्रीका छोरा रक्सी चोरीमा संलग्न रहेको भन्ने असत्य अभिव्यक्ति दिएका छन्,’ गौतमले भनिन्, ‘यो धमिलो पानीमा माछा मार्ने प्रवृत्तिको निरन्तरता हो भन्ने म ठान्दछु। प्रमाण बिना यस्तो गम्भीर आरोप लगाउनु स्वीकार्य छैन।’
उनले लिङ्देनलाई उक्त आरोप प्रमाणित गर्न वा तत्काल फिर्ता लिन आग्रह गर्दै भनिन्, ‘कसैको राजनीतिक र सामाजिक प्रतिष्ठामा आँच आउने गरी गरिएको अभिव्यक्तिप्रति म खेद व्यक्त गर्दछु। र, लिङ्देनज्यूलाई यसै सदनबाट आफ्ना भनाइ फिर्ता लिई माफी माग्न अनुरोध गर्दछु।’
प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार












प्रतिक्रिया