काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका लागि नयाँ ढंग र सशक्त अभियान प्रारम्भ हुने घोषणा गरेका छन्। राजधानीको शान्तिवाटिकामा आज आयोजित एक विशेष सभालाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन्।
कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजसंस्थाको समर्थनमा उभिएका अन्य नेताहरु पनि सहभागी थिए। पूर्वमन्त्रीसमेत रहेका थापाले उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै भने, “हामी केही महत्वपूर्ण सन्देश दिन, नयाँ संकल्प गर्न र विशेष घोषणा गर्न यहाँ भेला भएका हौं।”
थापाले चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतका नेताहरुको रिहाइको माग गरे। उनले उनीहरुलाई निर्दोष ठहर गर्दै तत्काल मुक्त गर्न सरकारसँग आग्रह गरे।
तीनकुनेको आन्दोलनलाई हिंसात्मक बनाउने षड्यन्त्र स्वयं सरकारबाट रचिएको आरोप लगाउँदै थापाले भने, “सरकारका योजना र षड्यन्त्रहरू जनताले प्रष्ट बुझिसकेका छन्।” उनले चेतावनी दिंदै थपे, “हामी हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका लागि नयाँ रणनीतिसहित थप सशक्त र व्यवस्थित ढंगले अघि बढ्नेछौं। सरकार यो कुरा राम्ररी बुझ्नुपर्नेछ।”
प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार












प्रतिक्रिया