काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रका नाममा हाल देशमा निरंकुशता र लुटतन्त्र हाबी भएको आरोप लगाएका छन् । सोमबार (वैशाख १५) काठमाडौंमा राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

“अहिले प्रजातन्त्र, लोकतन्त्रको नाममा देशमा जुन प्रकारको निरंकुशता र लुटतन्त्र हाबी भइरहेको छ, त्यसको अन्त्यको लागि हामीबाहेक अर्को विकल्प र शक्ति छैन । सिंगो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ,” उनले भने ।

advertisement

उनले सबै प्रकारका आग्रह–पूर्वाग्रह त्यागेर देशलाई निकास दिन तयार हुनुपर्नेमा जोड दिए । यसका निम्ति आफ्नो पार्टी तयार रहेको उनले बताए ।

“राजसंस्थाको आवाज उठाउने हाम्रा साथीहरूलाई खोजीखोजी कस्टडीमा राखिएको छ । लोकतन्त्र र मानवअधिकारको कुरा गर्नेहरूले चैत १५ गते लोकतन्त्र र मानवअधिकारको खिल्ली उडाए,” उनले भने ।

अलोकतान्त्रिक र मानवअधिकारविरोधी गतिविधिका विरुद्ध सशक्त गतिविधि अघि बढाउन जरुरी रहेको उनको भनाइ थियो । “लोकतन्त्रको नामको लुटतन्त्रको विरुद्धमा जुटौँ । चैत १५ गतेको घटनाको न्यायिक छानबिनको लागि सशक्त आवाज उठाऔँ,” लिङदेनले भने ।

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना र संघीयता खारेजका पक्षमा गरिने सबै कार्यक्रममा राप्रपाले ऐक्यबद्धता जनाउने उनले बताए । “हामी सबै सँगै छौँ । सबैसँग मिलेर काम गर्न राप्रपा तयार छ । यसमा कुनै दुविधा नरहोस्,” उनले भने ।

प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com