काठमाडौँ। शिक्षक महासंघले सरकारसँग हिजो राति भएको सहमतिको मस्यौदामा परिमार्जन गरेको छ। आज बिहान बसेको महासंघको बैठकले उक्त मस्यौदामा केही बुँदाहरू थपघट गरी नयाँ प्रस्ताव तयार पारेको हो। परिमार्जित मस्यौदालाई लिएर आजै सरकारसँग पुनः वार्ता गर्ने तयारी गरिएको छ।
शिक्षामन्त्री रघुजी पन्तको नेतृत्वमा हिजो राति सम्पन्न वार्तामा प्रारम्भिक सहमति बनेको थियो। सोही आधारमा तयार गरिएको मस्यौदा महासंघले आजको बैठकमा समीक्षा गरेको हो। महासंघका अनुसार केही महत्वपूर्ण बुँदामा संशोधन गरिएकाले आजको वार्ताबाट टुंगो लाग्ने अपेक्षा गरिएको छ।
महासंघ स्रोतका अनुसार यदि आजको वार्तामा सहमति जुटेमा आन्दोलनको रूप फेरिनेछ। तर, सहमति हुन नसके भोलिदेखि आन्दोलन थप उग्र बनाइनेछ।
“हामीले निषेधित क्षेत्र तोड्दै सामूहिक गिरफ्तारीसम्मको योजना बनाइसकेका छौं। आज सकारात्मक सहमति बनेमा आन्दोलन शान्तिपूर्ण ढंगले अगाडि बढ्छ, नत्र त्यसको स्वरूप परिवर्तन हुनेछ।”
प्रकाशित मिति: १६ बैशाख २०८२, मंगलबार












प्रतिक्रिया