काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन्। डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालका अनुसार, सर्वोच्च अदालतबाट पठाइएको नयाँ आधिकारिक पत्रका आधारमा चौधरीलाई साँझ रिहा गरिएको हो।
बुधबार दिउँसो उनी राजधानीको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए। पक्राउको कारण सर्वोच्च अदालतबाट कारागारमा आएको ‘फेक पत्र’ भएको खुलेको छ। अदालतले उक्त पत्र नक्कली भएको जानकारी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको छ। सोही प्रकरणमा नक्कली पत्र पठाउने महिमान सिंह विष्ट पक्राउ परिसकेका छन्।
रेशम चौधरी बुधबार नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रममा सहभागी हुन प्रज्ञा भवन पुगेका थिए। तर उनी एक्कासी पक्राउ परेपछि सो कार्यक्रम प्रभावित भयो। चौधरीको रिहापछि अब दुबै पार्टीले पुनः छलफल गरी एकताको नयाँ मिति तय गर्ने जनाएका छन्।
यस घटनाले नेपालको राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ भने नक्कली पत्रमार्फत पक्राउको घटनाले कानुनी प्रणालीको सुरक्षा र विश्वसनीयतामाथि पनि प्रश्न उठाएको छ।
प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार













प्रतिक्रिया