काठमाडौं — नेकपा (एकीकृत समाजवादी) पार्टीले मुलुकको आर्थिक, सामाजिक र समग्र सुधारका लागि आफ्नो मागपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित शीर्ष नेताहरूको टोलीले प्रधानमन्त्री ओलीलाई भेटेर मागपत्र बुझाएका हुन्।
‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारासहित बुझाइएको मागपत्रमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार विकास, सुशासन, विदेश नीति र संविधानको पुनरावलोकनजस्ता विषयमा सुझाव प्रस्तुत गरिएको छ।
गत चैत १५ गते तीनकुने घटनाका क्रममा समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा भएको तोडफोडको उचित क्षतिपूर्ति दिन अध्यक्ष नेपालले सरकारसँग विशेष आग्रह गरेका थिए।
प्रधानमन्त्री ओलीले मागपत्र बुझ्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीको सन्दर्भमा प्राप्त सुझावप्रति आभार व्यक्त गरे। उनले नीति तथा कार्यक्रम अन्तिम चरणमा पुगेको भए पनि बजेट निर्माणको क्रममा यथासम्भव ती सुझाव समेट्ने प्रतिबद्धता जनाए।
प्रधानमन्त्री ओलीले पछिल्लो समय देखिएका प्रतिगामी र अतिवादी गतिविधिको आलोचना गर्दै यस्ता गतिविधिको विरोध आवश्यक रहेको धारणा राखे।
प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष नेपालसँगै वरिष्ठ नेता प्रवेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, सचिव सावित्राकुमारी भुसाललगायत सहभागी थिए। करिब एक घण्टा चलेको भेटमा समसामयिक राजनीतिक विषयमा अनौपचारिक छलफल र विगतका घटनाहरूको स्मरणसमेत गरिएको थियो।
प्रकाशित मिति: १८ बैशाख २०८२, बिहिबार












प्रतिक्रिया