काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले  राजधानीमा आयोजित राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै भने, “जनताको लामो सङ्घर्षबाट विस्थापित राजतन्त्र अब केवल भूतप्रेतसरह भएको छ। यसले फर्कने कुनै सम्भावना छैन।”

प्रधानमन्त्री ओलीले गणतन्त्र स्थापनापछि पनि अझै आफू रैतीकै रूपमा बाँच्न चाहने, स्वतन्त्रताको मूल्य नबुझ्ने र नकारात्मक सोच बोकेका केही समूह व्यवस्थाविरुद्ध आवाज उठाइरहेको उल्लेख गरे। “जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि हामीले सृजनात्मक अभियानलाई अझ तीव्र बनाउनु पर्छ,” उनले जोड दिए।

advertisement

“राति चारवटा स्याल कराउँदा जस्तो गरी केही व्यक्तिले आवाज उठाउँदा सबै वन डग्मगिएको जस्तो लाग्न सक्छ, तर त्यस्तो कराउनेबाट केही हुनेवाला छैन,” उनले कटाक्ष गर्दै भने, “अब राजा हुने सपना देख्नु केवल सपना नै हुनेछ।”

प्रधानमन्त्री ओलीले तीव्र भाषिक शैलीमा भने, “त्यस्ता प्रतिगामी प्रवृत्तिविरुद्ध अब सांस्कृतिक ढ्याङग्रो बजाउनु पर्ने बेला आएको छ। यस अभियानमा तपाईंहरू सबै लाग्नुहोस्।”

अभिनेत्री सुरक्षा पन्तको फिल्म बहिष्कार गर्ने घोषणा गर्नेहरूलाई लक्षित गर्दै उनले भने, “राजतन्त्र नफर्कने कुरा उठाउँदा कलाकारलाई धारेहात गर्नु दु:खद हो। देश र जनताको पक्षमा बनेका राम्रो फिल्म र नाटक सधैं दर्शकले साथ दिन्छन्।”

ओलीले सांस्कृतिक आन्दोलनलाई जनताको चेतनास्तरसँग जोड्दै, लोकतन्त्रको मूल्य जोगाउने जिम्मा कलाकार र सर्जकहरूमा पनि रहेको बताएका थिए।

प्रकाशित मिति: १८ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com