काठमाडौं । सरकारसँग शिक्षा सम्बन्धी विषयमा भएको पछिल्लो सम्झौता पछि विद्यालयका शिक्षक र कर्मचारीबीच गहिरो मतभेद देखिएको छ। शिक्षा मन्त्रालयमा मंगलबार भएको सम्झौतापछि त्यसलाई अस्वीकार गर्दै विद्यालय कर्मचारी परिषदले आन्दोलन जारी राख्ने घोषणा गरेको छ।
बिहीबार काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस मा सम्झौताको विषयमा जानकारी दिन आयोजित भेलामा शिक्षक र कर्मचारी समूहबीच भनाभन मात्र नभई लफडा समेत भएको थियो। कर्मचारीहरूले शिक्षक नेताहरूलाई ‘धोकेबाज’ भन्दै कडा आक्रोश पोखेका थिए। उनीहरूको आरोप थियो— सरकारले विधेयक ल्याउने बहानामा उनीहरूलाई झुक्याउन खोजेको हो।
भेलाका क्रममा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बोलिरहेका बेला परिषद्का अध्यक्ष गंगाराम तिवारीले आफूहरूको पक्षको कुरा राख्न पाउनुपर्ने माग गरेका थिए। तर उनलाई हलबाट निकालिएपछि केही समय वादविवाद र अव्यवस्था उत्पन्न भएको थियो।
पत्रकारहरूसँग कुराकानी गर्दै तिवारीले शिक्षक नेतृत्वले कर्मचारीको हितविपरीत सम्झौता गरेको आरोप लगाए। उनले भने, “हामीलाई यो सम्झौता मान्य छैन, हामी घर फर्किंदैनौं। चाँडै नै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्नेछौं।”
यद्यपि तिवारी स्वयं सम्झौता वार्ताको अन्तिम चरणसम्म सहभागी थिए। उनले यसबारे खुलाउँदै भने, “म अन्तिमसम्म वार्तामा थिएँ, तर अध्यक्ष र महासचिवले हस्ताक्षर गर्न जोड दिएपछि मेरो केही लागेन।”
तिवारीको स्पष्ट भनाइ छ— कर्मचारी परिषद सम्झौताबाट सन्तुष्ट छैन र आन्दोलन अझै तीव्र रूपमा अघि बढाइनेछ।
प्रकाशित मिति: १८ बैशाख २०८२, बिहिबार












प्रतिक्रिया