सुर्खेत , वैशाख — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रिया सुरु गरिसकेको छ। असार १ गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार हाल तयारी तीव्र गतिमा भइरहेको छ।
पछिल्ला वर्षहरूमा झैँ यो वर्ष पनि पूर्वाधार, कृषि, रोजगारी जस्ता विषयलाई प्राथमिकतामा राखेर बजेट निर्माण भइरहेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले जानकारी दिए। उनले विगतमा जस्तो अनुत्पादक साना योजनाहरूमा अलमल नहुने र अब देखिने परिणाम ल्याउने रणनीतिक योजनालाई प्राथमिकता दिने बताएका छन्।
मन्त्री शाहका अनुसार चालु आर्थिक वर्षको बजेटको अनुमानित ७५ प्रतिशत खर्च हुने आँकलनका आधारमा नयाँ बजेटको सिलिङ निर्धारण भइसकेको छ। मन्त्रालयहरूलाई बजेटको सीमा तोकीसकिएको र हाल समपूरक तथा विशेष अनुदानका विषयमा गहन छलफल भइरहेको छ।
उनले विगतका अनुभवलाई ध्यानमा राख्दै नयाँ बजेट रोजगारीमुखी, रणनीतिक, परिणाममुखी र समावेशी बनाउने प्रयास भइरहेको बताए। “हामीले सबै मन्त्रालयलाई भनिसकेका छौँ — अब थोरै तर प्रभावशाली योजना ल्याउनुहोस्, जसले १० वटै जिल्लामा देखिने प्रभाव पारोस्,” उनले भने।
बजेटको आकार र लक्ष्य
मन्त्री शाहका अनुसार आगामी बजेट करिब ३३ अर्ब हाराहारीमा हुनसक्नेछ, जुन चालु आर्थिक वर्षको ३१ अर्बको तुलनामा केही वृद्धि हुने संकेत हो। आन्तरिक आम्दानीतर्फ पनि ध्यान दिइएको छ र यस वर्ष ८१ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ।
प्राथमिकता क्षेत्रहरू
रणनीतिक पूर्वाधार विकास — केवल सडक खोल्ने होइन, चालु अवस्था बनाइने
रोजगारी सिर्जना — युवाहरू, कृषक र उद्यमशीलता प्रोत्साहन गर्ने कार्यक्रम
वन र यातायात क्षेत्रको व्यवस्थापन
स्थानीय तहमा बजेट वृद्धि — गत वर्षको ८० करोडबाट बढाएर ९५ करोड
शाहले बजेटको कार्यान्वयनतर्फ व्यापक सुधार ल्याउन योजना बनाइएको पनि बताए। चालु वर्षमा योजना समयमै सुरु गर्न नसकिएकाले अपेक्षित प्रगति नभएको उनले स्वीकार गरे। त्यसैले, आगामी वर्षका लागि योजनाको समयमै प्रक्रिया अघि बढाउने तयारी रहेको जानकारी दिए।
“बजेट निर्माण मात्र होइन, कार्यान्वयनमै समस्या छ। त्यसैले अध्ययन, अनुसन्धान र सुधारका उपायहरूमा हामी काम गरिरहेका छौँ,” शाहले भने।
प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार












प्रतिक्रिया