काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपालमा राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना नरहेको प्रष्ट पारेका छन्। शनिबार पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो अधिवेशनमा सम्बोधन गर्दै उनले राजावादी प्रवृत्तिलाई कडा रूपमा आलोचना गरे।
पाण्डेले चैत १५ गते काठमाडौंमा राजावादीहरूद्वारा आयोजित प्रदर्शनलाई आपराधिक गतिविधिको संज्ञा दिँदै भने, “त्यो प्रदर्शन लोकतान्त्रिक आन्दोलन थिएन, अपराधजन्य क्रियाकलापले भरिएको थियो।”
उनले वर्तमान व्यवस्थामा सम्पूर्ण शक्ति जनतामा निहित रहेको उल्लेख गर्दै भने, “आजको लोकतन्त्रमा जनता सर्वोच्च शक्ति हुन्। तर राजतन्त्रमा सम्पूर्ण अधिकार एक व्यक्तिमा केन्द्रित हुन्थ्यो। राजा बोलेको नै कानुन हुन्थ्यो। अब फेरि त्यही व्यवस्थामा फर्कने कल्पना पनि गर्न सकिँदैन।”
नेता पाण्डेले पुरानो प्रणाली अन्तर्गत राजालाई विष्णुको अवतार मानेर पूजा गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै त्यसलाई अहिलेको युगसँग पूर्णरूपमा असान्दर्भिक र अपमानजनक बताए। “गोडा ढोग्ने, पूजा गर्ने त्यो परम्परा अब स्वीकार्य छैन,” उनले भने।
उनले चेतावनी दिए, “यदि राजसंस्था फर्काइयो भने संविधानले सुनिश्चित गरेका समावेशीता र समानुपातिकताको सिद्धान्त समाप्त हुन्छ। त्यसैले हामी त्यसविरुद्ध अन्तिमसम्म लड्छौं।”
पाण्डेले लोकतान्त्रिक मूल्यको संरक्षणका लागि आवश्यक परे बलिदान दिन र रगत बगाउन पनि तयार रहनुपर्ने सन्देश दिएका छन्।
प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार












प्रतिक्रिया