काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले चैत १५ गते राजधानीमा भएको राजावादी प्रदर्शनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै १५ वटा पेट्रोल बम प्रहार गरिएको गम्भीर दाबी गरेका छन्।
शनिवार राजधानीमा आयोजित आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले उक्त आशंका व्यक्त गरेका हुन्। उनका अनुसार सो दिन प्रदर्शनकारीहरूले विमानस्थल छेउको ठूलो पेट्रोल पम्पमा हमला गर्ने प्रयास गरेका थिए।
“एयरपोर्ट नजिकैको विशेष सुरक्षामा राखिएको पेट्रोल पम्पमा करोडौँ लिटर इन्धन मौज्दात थियो। त्यही ठाउँमा राजावादीहरूले १५ ओटा पेट्रोल बम प्रहार गरे,” पाण्डेले भने, “यदि त्यहाँ आगलागी भएको भए, त्यसको असर अत्यन्तै भयावह हुनेथियो।”
उनले दाबी गरेअनुसार उक्त सम्भावित दुर्घटनाबाट काठमाडौं उपत्यकामा बसोबास गर्ने ६५ लाख जनसंख्यामध्ये ६० प्रतिशत मानिसको ज्यान जाने खतरा थियो।
“एयरपोर्ट ध्वस्त हुने थियो। सहर पूर्णरूपमा बिनाश हुने थियो। नेपाल अन्तर्राष्ट्रिय यात्रु तथा व्यापारिक उडानको दृष्टिले वर्षौँ पछि पर्थ्यो,” उनले चेतावनीस्वरूप भने।
पाण्डेले यस्तो कार्यलाई गम्भीर षड्यन्त्रको संज्ञा दिँदै सम्बद्ध निकायलाई समयमै सर्तकता अपनाउन आग्रह गरे।
यस दाबीप्रति सम्बन्धित पक्षहरूबाट भने हालसम्म कुनै प्रतिक्रिया आएको छैन।
प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार













प्रतिक्रिया