काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई असफल भएको दाबी गरेका छन्।
नेपाल प्रेस युनियन नवलपुर शाखाद्वारा शनिबार कावासोतीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै डा. कोइरालाले सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न पूर्णतः असफल भएको बताएका हुन्। उनले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको र मुलुकमा दिनप्रतिदिन बढ्दो निराशाको वातावरण सिर्जना भएको उल्लेख गरे।
उनले कांग्रेस र एमालेको सहकार्यमा गठन भएको सरकारले अघि सारेको ७ बुँदे सहमति कार्यान्वयन हुन नसकेकोप्रति गम्भीर चिन्ता व्यक्त गरे। संविधान संशोधन, सुशासन प्रवर्द्धन, भ्रष्टाचार उन्मूलनजस्ता महत्त्वपूर्ण विषयमा सरकारले अपेक्षित प्रगति गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाए।
“दुई ठूला दल मिलेर सरकार बनाउँदा ७ बुँदे सहमति गरेका थियौं, तर ती कुनै पनि बुँदामा सन्तोषजनक प्रगति भएको छैन,” उनले भने, “यो सरकार सम्पूर्ण रूपमा असफल भएको छ।”
प्रधानमन्त्रीको हैसियतले देशको नेतृत्व गर्ने जिम्मेवारी एमालेले लिनेपर्ने उनको धारणा थियो। उनले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भएको ढिलाइको उदाहरण दिँदै सरकारको ढिलासुस्ति र व्यवस्थापकीय कमजोरीलाई पनि प्रश्नको रुपमा उठाए।
त्यस्तै, डा. कोइरालाले कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने र त्यसलाई कुनै हालतमा सार्न नहुने स्पष्ट धारणा व्यक्त गरे। पछिल्ला दिनहरूमा उनले निरन्तर सरकारप्रति आलोचनात्मक अभिव्यक्ति दिँदै आएका छन्।
प्रकाशित मिति: २० बैशाख २०८२, शनिबार













प्रतिक्रिया