काठमाडौं । सिङ्गापुरमा सम्पन्न आम चुनावमा प्रधानमन्त्री लरेन्स वङ नेतृत्वको पीपुल्स एक्सन पार्टीले शनिबार स्पष्ट बहुमतका साथ विजय हासिल गरेको छ। पार्टीले ९७ मध्ये ८७ संसदीय सिटहरू जितेको छ।

विजयपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री वङले भने, ‘हामीलाई जनताको बलियो समर्थन प्राप्त भएकोमा आभारी छौँ। तपाईंहरूको भरोसाको सम्मान गर्न हामी अझ कडा मेहनत गर्नेछौँ।‘

advertisement

सिंगापुरमा सन् १९६५ देखि पीपुल्स एक्सन पार्टी र वर्कर्स पार्टीबीच प्रतिस्पर्धा हुँदै आएको छ । केही साना दलहरू पनि प्रतिस्पर्धामा रहे पनि उनीहरूको उपस्थिति नगन्य रहेको छ । पीपुल्स एक्सन पार्टी सन् १९६५ देखि सत्तामा छ ।

निर्वाचन विभागका अनुसार झण्डै २६ लाख सिङ्गापुरवासीले देशभरका १२४० मतदान केन्द्रहरूमा गएर ९२ सिटका लागि मतदान गरे।

सिङ्गापुरको संसद दुई प्रकारका निर्वाचन क्षेत्रहरूमा बाँडिएको हुन्छ- सिंगल मेम्बर कन्स्टिचुएन्सी (एसएमसी) र ग्रुप रिप्रिजेन्टेसन कन्स्टिचुएन्सी (जीआरसी) ।

जीआरसीमा ४-५ जनाको समूह उम्मेदवार हुनेगर्छन् जसमा अनिवार्य रूपमा कम्तीमा एक अल्पसंख्यक समुदाय (मलाय वा अन्य) को प्रतिनिधित्व हुनैपर्छ।

यसपटक एक जीआरसी सिटमा पीपुल्स एक्सन पार्टी निर्विरोध विजयी भएको छ।

सन् १९४८ को पहिलो आम निर्वाचनपछि यो सिङ्गापुरको १९औँ चुनाव हो भने सन् १९६५ मा स्वतन्त्रता प्राप्त गरेपछि यो १४औँ आम चुनाव हो।

लरेन्स वङले गत वर्ष मे महिनामा लि सिएन लुङले करिब २० वर्षपछि प्रधानमन्त्री पद छाडेपछि पदभार सम्हालेका थिए।

को-को थिए प्रतिष्पर्धामा ?

लरेन्स वङ

१५ मे २०२४ मा ली सीन लुङको स्थानमा प्रधानमन्त्री बनेका वङ अहिले पिपुल्स एक्सन पार्टीका महासचिव पनि हुन्। उनी यसअघि अर्थमन्त्री र उपप्रधानमन्त्रीको भूमिका सम्हाली सकेका छन्। कोभिड-१९ का बेला लिइएका निर्णय र आर्थिक नीतिका कारण उनी लोकप्रिय बनेका थिए।

पिपुल्स एक्सन पार्टीका वरिष्ठ नेता र वर्तमान उपप्रधानमन्त्री रहेका हेङ स्वि किट पनि चर्चामा रहे पनि यसपटक वङ नै अगाडि रे । किट सन् २०२१ मा स्वास्थ्य कारणले प्रधानमन्त्रीको दौडबाट बाहिरिएका थिए ।

प्रीतम सिंह

सिंह वर्कर्स पार्टीका नेता हुन् । उनी लोकप्रिय भए तापनि प्रधानमन्त्री बन्ने सम्भावना न्यून छ, किनभने पार्टीले केवल २६ सिटमा मात्रै प्रतिस्पर्धा गरिरहेको छ। सन् २०२० को चुनावमा उनले पार्टीलाई १० सिट जिताएका थिए।

सन् २०२४ को फेब्रुअरीमा एक अदालतले उनलाई संसदमा झूट बोलेको अभियोगमा दोषी ठहर गरी दुईवटा मुद्दामा ५,२२० डलरको जरिवाना लगाएको थियो।

कस्तो छ निर्वाचन प्रणाली ?

सिंगापुरमा २१ वर्षभन्दा माथिका सबै नागरिकले मतदान गर्नुपर्छ । मतदान गर्नु हरेक नागरिक कर्तव्य मानिन्छ। सन् २०२० मा ९५.८१ प्रतिशत मतदान भएको थियो। यो पटक पनि उच्च सहभागिता अपेक्षित छ।

सिंगापुरमा प्रथम हुने निर्वाचित हुने (फर्स्ट–पास्ट–द–पोस्ट) प्रणाली छ, जसमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार विजयी हुन्छ।

चुनावमा ११ पार्टी सहभागी छन् । तर केवल पिपुल्स एक्सन पार्टीले मात्रै सबै ९७ सिटमा चुनाव लडेको हो। जबकि वर्कर्स पार्टीले केवल २६ सिटमा मात्र चुनाव लड्यो । ६ पार्टीले मात्र १० भन्दा बढी सिटका लागि चुनाव लडे ।

सन् २०२० को आम चुनावमा कुल ९३ सिटका लागि मतदान गरिएको थियो । उक्त चुनावमा पिपुल्स एक्सन पार्टीले ८३ सिट जितेको थियो । उसले ६१.२४ प्रतिशत मत ल्याउँदा वर्कर्स पार्टीले १० सिट मात्र जितेको थियो ।

प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com