काठमाडौं । गृहमन्त्री रमेश लेखकले अपराधका बदलिंदो स्वरूपलाई ध्यानमा राख्दै अनुसन्धानको दायरा फराकिलो बनाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
आइतबार काठमाडौंमा आयोजित नेपाल प्रहरीको लिडरशीप एण्ड स्टाफ कोर्स उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले परम्परागत अनुसन्धान पद्धतिले मात्र अहिलेका जटिल र प्रविधियुक्त अपराध समाधान गर्न नसकिने बताउनुभयो। उहाँले शान्ति सुरक्षाको सुदृढीकरणका लागि अनुसन्धान प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्न जरुरी रहेको धारणा व्यक्त गरे।
गृहमन्त्री लेखकले २५-३० वर्षअघिको तुलनामा प्रहरी प्रणालीमा धेरै सुधार भए पनि पछिल्ला वर्षमा आएका अपराधका नयाँ आयाम र प्रविधिलाई सम्बोधन गर्न अझ परिस्कृत र प्रविधिमैत्री अनुसन्धान पद्धति अवलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् ।
“समाज रूपान्तरणको दिशामा अगाडि बढिरहेको छ, तर त्यससँगै अपराधका चुनौती पनि थपिँदै गएका छन्,” मन्त्री लेखकले भन्नुभयो, “अवसर र सम्भावनासँगै जोखिम र चुनौती पनि उत्तिकै छन्। त्यसलाई सम्बोधन गर्न नयाँ सीप र तरिका सिक्न अत्यावश्यक छ।”
कार्यक्रममा बोल्दै लेखकले प्रहरी संगठनलाई समयानुकूल सशक्त, उत्तरदायी र सक्षम बनाउने अभियानमा स्टाफ कोर्सजस्ता कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गरेका हुन् ।
आजदेखि नेपाल प्रहरीले पहिलोपटक लिडरशीप एण्ड स्टाफ कोर्स सञ्चालनमा ल्याएको हो।
प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार













प्रतिक्रिया