काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले एक महिनाअघि दिएको सहमहामन्त्री पदको राजीनामा अझै पार्टीले स्वीकृत गरेको छैन।

श्रेष्ठले गत चैत १८ गते सहमहामन्त्री पदबाट राजीनामा दिँदै आफू केवल संसदीय भूमिकामा सक्रिय हुन चाहेको उल्लेख गरेकी थिइन्। उनले पार्टीमा ‘एक व्यक्ति, एक पद’ को सिद्धान्त लागू हुनुपर्ने र एउटै व्यक्तिले दुईवटा पूर्णकालीन जिम्मेवारी वहन गर्न नसक्ने भन्दै राजीनामा दिएकी हुन्।

advertisement

श्रेष्ठले राजीनामा पत्रमा पार्टीप्रति आफ्ना असन्तुष्टि पनि प्रकट गरेकी छिन्। उनले पार्टीमा जनताको ठूलो अपेक्षा भए पनि ‘डेलिभरी क्षमता शून्य’ रहेको, निर्णय प्रक्रिया कर्मकाण्डी भएको र महत्त्वपूर्ण विषयमा पदाधिकारीसँग सल्लाह नगर्ने प्रवृत्ति रहेको उल्लेख गरेकी थिइन्।

श्रेष्ठले पार्टी सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै राजीनामा बुझाएकी थिइन्। तर चैत २२ गते सभापति लामिछाने पक्राउ परेपछि उनले राजीनामा तत्काल ‘होल्ड’ गर्न आग्रह गरेकी थिइन्। त्यसपछि वैशाख ४ गते उनले राजीनामा पार्टीको केन्द्रीय समिति बैठकमै पुनः प्रस्तुत गरेकी थिइन्।

श्रेष्ठको राजीनामा स्वीकृत गर्ने जिम्मेवारी कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) र उपसभापति स्वर्णिम वाग्लेलाई दिइएको छ। तर, अहिलेसम्म पार्टी कुनै निष्कर्षमा पुगेको छैन।

कार्यवाहक प्रवक्ता मुकुल ढकालका अनुसार, सचिवालय बैठक नबसेकाले राजीनामाबारे निर्णय हुन सकेको छैन। “उहाँको राजीनामाबारे त्यति धेरै छलफल भएको मलाई जानकारी छैन,” उनले भने।

हाल उपसभापति वाग्ले र सांसद डा. तोसिमा कार्की कार्यक्रम सिलसिलामा भारतमा रहेका छन्। उनीहरू स्वदेश फर्किएपछि मात्र यस विषयमा टुंगो लाग्ने रास्वपाले जनाएको छ।

श्रेष्ठ निकट स्रोतका अनुसार, कार्यवाहक सभापति अर्यालले श्रेष्ठलाई संसद् भवनमा भेट्दा राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। तर श्रेष्ठले पार्टीकै व्यक्तिहरूले राजीनामाको विषय मिडियामा पुर्‍याइसकेकाले अब फिर्ता लिन नहुने अडान दोहोर्‍याइन्। साथै, उनले आफू सहमहामन्त्रीको जिम्मेवारीमा फर्कन नचाहेको र सांसदको भूमिकामा मात्र क्रियाशील रहने बताएकी थिइन्।

श्रेष्ठले कार्यवाहक सभापति अर्यालसँगको भेटमा राजीनामा स्वीकृत गरिदिन आग्रहसमेत गरेकी थिइन्। जवाफमा अर्यालले “प्रक्रियामा होला” भनेको श्रेष्ठ निकट स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com