काठमाडौं — नेकपा एमालेको आइतबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यबीच मन्त्री विद्या भट्टराईको राजीनामालाई लिएर सवालजवाफ भएको छ।
बैठकमा अध्यक्ष ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले जिम्मेवारी पूरा गर्न नसक्दा राजीनामा दिनु परेको बताएका थिए। “काम गर्न नसकेको कारणले राजीनामा दिएकी हुन्, तर त्यसलाई लिएर मलाई अप्ठ्यारो पार्ने प्रयास गरियो,” ओलीको भनाइ थियो।
उपाध्यक्ष शाक्यले केही दिनअघि सामाजिक सञ्जालमा लेखेको स्टाटसप्रति पनि ओलीले आपत्ति जनाए। उक्त स्टाटसमा शाक्यले भट्टराईलाई योग्य, इमानदार र उच्च नैतिकता भएकी नेतृ बताउँदै प्रश्न उठाएकी थिइन्, “शिक्षक आन्दोलन चलिरहेकै बेला उनले किन राजीनामा दिनुपर्यो?”
शाक्यको उक्त स्टाटसलाई ‘गलत व्याख्या’ भन्दै ओलीले आलोचना गरे। जवाफमा शाक्यले भने, “मलाई लाग्छ विद्या भट्टराई सक्षम छिन्, त्यसैले हौसला दिने आशयले मात्र मैले त्यो स्टाटस लेखेकी हुँ।”
बैठकमा उपस्थित एक नेताका अनुसार शाक्यले प्रधानमन्त्री ओलीकै शैलीमाथि पनि प्रश्न उठाइन्। “तपाईं आफ्नै नेताहरूबारे बाहिर स्पष्टीकरण मागिन्छ भनेर किन बोल्दै हिँड्नुभएको?” शाक्यको प्रश्न थियो।
प्रधानमन्त्री ओलीले १३ वैशाखको संसदीय दल बैठकमा पनि भट्टराईलाई समर्थन जनाउने शैलीमा शाक्यले बोलेको भन्दै असहमति जनाएका थिए। ओलीले भट्टराईलाई आफूले सांसदबाट मन्त्री बनाएको स्मरण गराउँदै भने, “उहाँसँग मन्त्रालय चलाउने क्षमता नदेखिएपछि राजीनामा दिइएको हो।”
दिउँसो १ बजेका लागि बोलाइएको बैठक ओली दुई घण्टा ढिलो गरी उपस्थित भएपछि सुरु भएको थियो। बैठकमा सरकारको नीति तथा कार्यक्रम, सत्ता समीकरण, भट्टराईको राजीनामा र पार्टीबाट निलम्बनमा परेका नेतृहरूबारे पनि चर्चा भएको थियो।
प्रकाशित मिति: २१ बैशाख २०८२, आइतबार













प्रतिक्रिया