काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी संरक्षक रेशम चौधरीमाथि वैशाख १७ गते गरिएको पक्राउप्रति आपत्ति जनाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको छ।
प्रतिनिधि सभा बैठकको सुरुआतमै बोल्दै नाउपाकी सांसद रञ्जिता श्रेष्ठले चौधरीलाई प्रशासनिक मनोमानीका आधारमा पक्राउ गरिएको भन्दै छानबिन आवश्यक रहेको बताइन्। उनले कानुनी प्रक्रिया विपरीत भएको यस्तो कार्यप्रति सरकार गम्भीर हुनुपर्ने धारणा राखिन्।
वैशाख १७ गते सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका कर्मचारी महिमानसिंह विष्टको अनधिकृत पत्रको आधारमा चौधरी पक्राउ परेका थिए। उनलाई पाँच घण्टा डिल्लीबजार कारागारमा राखिएको थियो र पछि सर्वोच्च अदालतले उक्त पत्र अनधिकृत भएको स्पष्ट गरेपछि रिहा गरिएको थियो।
सोमबारको संसद बैठकमा बोल्दै नाउपाका अर्का सांसद लालवीर चौधरीले कर्मचारी विष्टको पत्रको वैधता नहुने स्पष्ट भएपछि मात्र रेशम चौधरीलाई रिहा गरिएको भन्दै सरकारसँग यसबारे जवाफ माग गरेका थिए। उनले न्यायालयको नाममा भइरहेको मनोमानी तत्काल रोक्नुपर्ने र जिम्मेवार निकायलाई कारबाही गर्नुपर्ने मागसमेत गरे।
प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार












प्रतिक्रिया