काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारले नेताहरूलाई राजनीतिक प्रतिशोध स्वरूप पक्राउ गर्ने, थुनामा राख्ने र बयान लिने कार्य गरिरहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद झाले पछिल्ला घटनाक्रमहरू राजनीतिक प्रतिशोधका उदाहरण भएको दाबी गरे। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पतञ्जली योगपीठको जग्गा हदबन्दी फुकुवा प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग गरिएको बयानलाई समेत त्यसैको सन्दर्भमा जोड्दै आपत्ति जनाए।

advertisement

“हाम्रो पार्टीका सभापतिसँग भयो, हालै रेशम चौधरीप्रति पनि भयो, अब माधवकुमार नेपालको पनि बयान लिइँदैछ भन्ने सुनिएको छ। अब के सिके राउतप्रति आक्रमण हुन्छ?” उनले प्रश्न गरे।

उनले सरकारको यस्तो गतिविधिलाई निरन्तर राजनीतिक प्रतिशोधको रूपमा रास्वपाले हेरिरहेको उल्लेख गर्दै भने, “हामी यो विषयलाई गम्भीरतापूर्वक लिइरहेका छौं। सधैं चुप लागिरहन सकिन्न भन्ने कुरा सरकारले बुझ्नुपर्छ।”

सांसद झाले यस्ता गतिविधिले लोकतान्त्रिक मूल्य र मर्यादामा गम्भीर प्रश्न खडा गरेको भन्दै सरकारलाई संयमता अपनाउन आग्रह गरे।

प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com