काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गत वर्ष असार १७ गते भएको सात बुँदे सहमति कागजमै सीमित रहेको र अहिले त्यो सहमति मजाकको विषय बनेको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद वाग्लेले झन्डै दुई तिहाइ बहुमत प्राप्त वर्तमान सरकार जनअपेक्षाअनुसार अघि बढ्न असफल भएको बताएका छन्। उनले यो विफलता सत्ता गठबन्धनभित्रका नेताहरूले समेत अनौपचारिक रूपमा स्वीकार गर्दै आएको उल्लेख गरे।
“सात बुँदे सहमतिमा भ्रष्टाचार नगर्ने, सुशासन कायम गर्नेजस्ता प्रतिबद्धता उल्लेख गरिए पनि त्यो अहिले हाँसोको विषय बनेको छ,” वाग्लेले भने, “आजभोलि टेलिभिजनमा कमेडी शो नचलेको भए कुनै मन्त्रीलाई उभ्याएर ती बुँदा पढ्न लगाउँदा पर्याप्त हुन्छ। त्यो नै जोक भइसकेको छ।”
सांसद वाग्लेले सरकार गठन भएको यति लामो समय बितिसक्दा पनि संविधान संशोधनसम्बन्धी कुनै प्रस्ताव समेत अगाडि नआएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले कांग्रेस र एमालेबीच संविधान संशोधनदेखि आलोपालो प्रधानमन्त्री बनाउने विषयमा सहमति भए पनि व्यवहारमा त्यसको कार्यान्वयन हुन नसकेको बताए।
वाग्लेले दुई तिहाइको बलियो बहुमतसहित बनेको सरकारबाट जनताले ठूला अपेक्षा राखेको स्मरण गराउँदै भने, “सरकारको लय, चरित्र, क्षमता र ऐतिहासिक अवसरलाई हेर्दा सत्तारूढ दलकै कतिपय नेतामा समेत निराशा देखिन थालेको छ।”
अहिलेको सत्तासंघठन जनअपेक्षा अनुरूप काम गर्न नसक्दा त्यो स्वयं हास्यास्पद अवस्थामा पुगेको वाग्लेको टिप्पणी थियो।
यसरी उनले सरकारको कार्यशैलीप्रति गहिरो असन्तुष्टि र आलोचना व्यक्त गरे।
प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार












प्रतिक्रिया