काठमाडौं — जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई कर्मकाण्डमात्रै भएको बताउँदै यसको कुनै वास्तविक औचित्य नरहेको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले वर्तमान नीतिगत दस्तावेजले समाजवाद उन्मुख भनिए पनि व्यवहारमा नवउदारवादतर्फ लम्किएको स्पष्ट गरे ।
“नीति तथा कार्यक्रम केवल परम्परागत कर्मकाण्ड जस्तै बनिएको छ,” यादवले भने, “राजा महाराजाको पालादेखि सुरू भएको यो परिपाटी आज कमरेडहरूले पनि निरन्तरता दिएका छन्। यथार्थमा यसको कुनै जरुरत छैन, न त औचित्य नै। यसबाट बुक बाँड्ने र सामान्य टिप्पणीबाहेक खास उपलब्धि देखिँदैन ।”
उनका अनुसार नीतिगत भाषामा “समाजवाद उन्मुख” भन्ने शब्द प्रयोग गरिएको भए तापनि समग्र नीति तथा कार्यक्रमको अध्ययन गर्दा नवउदारवादी सोच झल्किने उल्लेख गरे। उनले समाजवाद र नवउदारवाद एक अर्काका विपरीत सिद्धान्त भएको स्पष्ट पारे।
“यदि नीति साँच्चिकै समाजवाद उन्मुख हुने हो भने,” यादवले थपे, “त्यसले उपभोक्ता वर्ग, गरिब, किसान, मजदुर, सर्वहारा, मधेसी, आदिवासी जनजाति, अल्पसंख्यक, दलित, महिला र विपन्न वर्गलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्ने थियो। तर, प्रस्तुत दस्तावेजले तिनको पक्षमा ठोस नीति देखाउन सकेको छैन।”
उनको भनाइमा, नीतिको वास्तविकता र कार्यान्वयनको हैसियतलाई आधार बनाएर मूल्यांकन गर्दा यो कार्यक्रम जनताको अपेक्षाअनुरूप छैन, केवल औपचारिक दस्तावेजमा सीमित छ।
प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार












प्रतिक्रिया