काठमाडौं । भारतले मंगलबार राति पाकिस्तानका कम्तीमा पाँच स्थानमा गरेको हवाई आक्रमणपछि दक्षिण एशियाको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ। पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफले उक्त आक्रमणलाई “कायरतापूर्ण र धोकेवाज कार्य” भन्दै कडा प्रतिकारको चेतावनी दिएका छन्।
प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “धोकेबाज शत्रुले पाकिस्तानका पाँच स्थानमा कायरतापूर्ण आक्रमण गरेको छ। यो घृणित कार्यको प्रतिउत्तर दिइनेछ, र कुनै हालतमा यसलाई चुप लागेर सहन सकिँदैन।”
भारतको आक्रमणमा परेर कम्तीमा ३० जनाको ज्यान गएको प्रारम्भिक जानकारी आएको छ भने कैयौं घाइते स्थानीय अस्पतालहरूमा उपचाररत छन्।
भारतले भने यो कारबाही दुई साता अघि जम्मु कश्मीरको वैसरण उपत्यकामा भएको आतंकवादी हमलाको प्रतिशोधस्वरूप गरिएको जनाएको छ। भारतीय सेनाले छोटो विज्ञप्तिमा उक्त अपरेशनलाई ‘न्यायको कार्य’ बताएको छ।
भारतको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भारतीय सैन्य शक्तिले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा रहेका आतंकी संरचनाहरूमाथि ‘अपरेशन सिन्दुर’ अन्तर्गत आक्रमण गरेको हो। ती स्थानहरूबाट भारतविरुद्ध आतंकवादी गतिविधि योजनाबद्ध र सञ्चालित भइरहेका थिए।”
विज्ञप्तिमा थप उल्लेख गरिएको छ, “यो कारबाही वैसरण उपत्यकाको पहलगाम क्षेत्रमा भएको आतंकी हमलाको जवाफी प्रतिक्रिया हो, जसमा एक नेपाली नागरिकसहित २५ भारतीयको ज्यान गएको थियो। उक्त घटनामा संलग्नलाई जवाफदेही बनाउने हाम्रो प्रतिबद्धता अनुरूप यो कदम चालिएको हो।”
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बेलायती समाचार संस्था द गार्डियन सँगको कुराकानीमा पाकिस्तान जवाफी कारबाहीको तयारीमा रहेको बताएका छन्। “बिहान नहुँदै पाकिस्तानको प्रतिक्रिया देखिनेछ,” उनले बताएका छन्।
त्यसैगरी, बिहान ५ बजेतिर जियो न्यूजसँग कुरा गर्दै पाकिस्तानका सञ्चारमन्त्री अतुल्ला तरारले पाकिस्तानले पाँचवटा भारतीय जेट विमान खसालिएको दाबी गरेका छन्।
द डन दैनिकका अनुसार भारतले सबभन्दा जनसंख्या घनत्व भएको पाकिस्तानको पञ्जाब प्रान्तस्थित बहावलपुर सहरमा रहेको एउटा मस्जिदलाई लक्षित गर्दै आक्रमण गरेको थियो, जहाँ एक बालकको मृत्यु भएको जनाइएको छ। अन्य आक्रमणहरू पनि पञ्जाब नजिक र पाकिस्तान प्रशासित कश्मीरको कोटली क्षेत्रमा भएका थिए।
दुई छिमेकी राष्ट्रबीचको यो बढ्दो सैन्य तनावले क्षेत्रीय स्थायित्वमा गम्भीर चुनौती थपिएको छ। अब हेर्न बाँकी छ, पाकिस्तानको प्रतिक्रिया कस्तो हुन्छ र त्यसले दक्षिण एशियाको सुरक्षामा कस्तो प्रभाव पार्छ।
प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार













प्रतिक्रिया