काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सुशासन र रोजगारीको मागलाई बलियो रूपमा अगाडि बढाउन आन्दोलनको दोस्रो चरण सुरु गर्ने तयारी गरेको छ।
पार्टी केन्द्रीय सचिवालयको मंगलबार बसेको बैठकले दोस्रो चरणका आन्दोलन कार्यक्रम केन्द्रीय कार्यालयमार्फत तय गरी चाँडै सार्वजनिक गर्ने निर्णय गरेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए। उनका अनुसार, बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, संसदमा प्रस्तुत नीति तथा कार्यक्रममाथिको बहस, आन्दोलनको आगामी रणनीति र पार्टीको संगठन विस्तारजस्ता विषयमा विस्तृत छलफल भएको छ।
उपाध्यक्ष ज्वालाले पहिलो चरणको आन्दोलन अपेक्षाकृत सफल रहेको निष्कर्ष बैठकले निकालेको बताए। “पहिलो चरणको आन्दोलनले हाम्रो अभियानलाई गति दिएको छ,” उनले भने, “अब हामी जनसहभागितासहितको आन्दोलनमा प्रवेश गर्छौं र यसको स्वरूप पनि परिवर्तन गरिन्छ।”
उनका अनुसार दोस्रो चरणमा सुशासन र रोजगारी सुनिश्चित गर्न दबाबमूलक र प्रभावशाली कार्यक्रमहरू सञ्चालन गरिने छन्। “हामीले अघि सारेका मागहरू पूरा गराउन सशक्त जनकार्यक्रम ल्याउनेछौं,” उनले भने, “धर्ना, जुलुस, जनपरिचालनलगायतका कार्यक्रम जनसहभागितामार्फत सञ्चालन हुन्छन्।”
एकीकृत समाजवादीले मुलुकमा सुशासन कायम गर्ने र रोजगारी सिर्जना गर्ने विषयलाई मूल एजेन्डा बनाउँदै सशक्त आन्दोलनको तयारी थालेको छ।
प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार













प्रतिक्रिया