काठमाडौं । हाल क्षेत्रीय सुरक्षा परिस्थितिमा देखिएको संवेदनशीलतालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल, नेपालले भारतसँगको सीमामा कडाईका साथ निगरानी बढाएको छ। सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सीमा क्षेत्रमा खटिएका सबै बाहिनीहरूलाई विशेष सुरक्षा निर्देशनसहित सर्कुलर जारी गरेको छ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार, अनधिकृत आवतजावत तथा घुसपैठ नियन्त्रणका लागि सबै सीमा क्षेत्रका बाहिनीपतिहरूलाई निर्देश दिइएको छ। “सुरक्षा योजनाहरू स्थानअनुसार तयार पारेर तत्काल कार्यान्वयनमा लगिएको छ,” उनले जानकारी दिए।

advertisement

नेपाल–भारत सीमामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै संयुक्त गस्ती, सूचनाको आदान–प्रदान र सीमा निगरानीलाई तीव्रता दिइएको छ। बीओपी (बॉर्डर आउट पोस्ट) बाट अर्को बीओपीसम्म २४ सै घण्टा गस्ती सञ्चालन भइरहेको छ।

साथै, सीमाबाट आवतजावत गर्ने व्यक्तिहरूको परिचयपत्र चेकजाँच गरी अभिलेख राख्ने कार्य समेत अघि बढाइएको छ। तर परम्परागत रूपमा हुने स्थानिय आवतजावतमा अनावश्यक अवरोध नहोस् भन्ने कुरामा पनि सशस्त्र प्रहरी सचेत रहेको डीएसपी थापाले स्पष्ट पारे।

त्यस्तै, शहरी क्षेत्रका सम्भावित संवेदनशील स्थानहरूमा समेत निगरानी तथा सुरक्षालाई बलियो बनाइएको छ।

यता, जम्मु–कश्मीरको पहलगाममा केही दिनअघि पर्यटकमाथि भएको आतंकी आक्रमणपछि भारतले त्यसको जवाफस्वरूप गएराति पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरका विभिन्न नौ स्थानमा ‘अपरेशन सिन्दूर’ नाम दिइएको हवाई कारबाही सञ्चालन गरेको छ।

प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com