काठमाडौँ — छिमेकी मुलुक भारत र पाकिस्तानबीच उत्पन्न बढ्दो तनावका कारण त्यसको नेपालमा पर्न सक्ने सम्भावित प्रभावबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी छ। बैठकको अध्यक्षता गृहमन्त्री रमेश लेखकले गरिरहेका छन्।
दिउँसो करिब २ बजे सुरु भएको बैठकमा भारत–पाकिस्तान तनावले नेपालको सुरक्षा अवस्थामाथि पार्न सक्ने असरबारे विस्तृत विश्लेषण गर्दै सुरक्षा रणनीति निर्माण गर्ने प्रयास भइरहेको छ। बैठकमा सहभागी एक उच्च सुरक्षा अधिकारीका अनुसार, सीमावर्ती क्षेत्रमा थप सुरक्षा व्यवस्था मिलाउने विषयमा गृह मन्त्रालयबाट आवश्यक निर्देशन जारी भइसकेको छ।
बैठकमा गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल सेनाका रथी निर्मलकुमार थापा, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, तथा शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव रामचन्द्र तिवारी सहभागी छन्।
सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले सीमामा सुरक्षा सतर्कता बढाइएको जानकारी दिएका छन्। उनले भने, “सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा घुसपैठ रोक्न सशस्त्र प्रहरी बलले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँग सहकार्य गर्दै संयुक्त गस्ती, सूचनाको आदान–प्रदान र २४ घण्टे सुरक्षा गस्तीलाई तीव्र बनाएको छ।”
थापाका अनुसार, एक बोर्डर आउटपोष्ट (बीओपी) बाट अर्को बीओपीसम्म २४ सै घण्टा सुरक्षा निगरानी गरिने गरी सुरक्षा योजना अघि बढाइएको छ।
प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार












प्रतिक्रिया