काठमाडौं । भारतको तर्फबाट गरिएको घातक सैन्य कारबाहीपछि पाकिस्तानले पनि जवाफी आक्रमण सुरु गरेको छ। मंगलबार राति भारतले पाकिस्तान नियन्त्रित जम्मु–कश्मिर क्षेत्रभित्र आतंकवादीका आश्रयस्थलहरूलाई लक्षित गर्दै व्यापक आक्रमण गरेको थियो।

‘अपरेशन सिन्दूर’ नाम दिइएको उक्त कारबाही भारतका तीनवटै सुरक्षा अंग—स्थल, जल र वायु सेनाको संयुक्त प्रयासमा सञ्चालन गरिएको छ। सो आक्रमणमा कम्तीमा ५० जनाभन्दा धेरैको ज्यान गएको बताइए पनि भारत र पाकिस्तानले मृतक सङ्ख्या सम्बन्धी आ–आफ्नै दाबी प्रस्तुत गरेका छन्। केही भारतीय सञ्चारमाध्यमले मृतक सङ्ख्या सय नाघेको उल्लेख गरेका छन्।

advertisement

भारतीय सेनाले आफ्नो आक्रमणमा पाकिस्तान समर्थित थुप्रै आतंकवादी नेताहरू मारिएको दाबीसमेत गरेको छ। सोही कारबाहीको बदलामा पाकिस्तानले पनि बुधबारदेखि भारतीय भूभागमा जवाफी आक्रमण थालेको छ।

पाकिस्तानी सेनाले सीमा नजिक रहेका भारतीय बस्तीहरूमा बम र गोली वर्षा गर्न थालेको छ। सो आक्रमणमा भारतीय सेना अन्तर्गत फिल्ड ५ रेजिमेन्टका एकजना ‘लेस नायक’ दर्जाका अधिकृत दिनेश कुमारको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ।

पाकिस्तानी गोलीबारी र बम हमलामा भारतीय पक्षमा हालसम्म कम्तीमा १५ जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको बताइएको छ। परिस्थितिलाई मध्यनजर गर्दै भारतले स्थल, जल तथा वायु सेनालाई उच्च सतर्कतामा राखेको छ।

गत अप्रिल २२ मा जम्मु–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक जना नेपालीसहित २६ जना पर्यटकको ज्यान गएको थियो। त्यसयता भारत र पाकिस्तानबीचको तनाव झनै चर्किएको छ। मंगलबार रातिको भारतीय हवाई आक्रमणपछि परिस्थिति झन् संवेदनशील बन्दै गएको छ।

भारतले यो कारबाहीलाई “युद्धको प्रारम्भ” भएको ठहर गर्दै पाकिस्तानलाई कडा सन्देश दिएको छ। पाकिस्तानले पनि कुनै हालतमा चुप नबस्ने र समान प्रतिउत्तर दिने घोषणा गरिसकेको छ। दुबै राष्ट्रका सरकारले आफ्ना सेनालाई खुला रूपमा कारबाही गर्न निर्देशन दिइसकेको जनाइएको छ।

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com