काठमाडौं । भारतले पाकिस्तानविरुद्ध सञ्चालन गरेको ‘अपरेसन सिन्दूर’ पछि भारत–पाकिस्तान अन्तर्राष्ट्रिय सीमामा तनाव तीव्र बनेको छ। यसै सन्दर्भमा पञ्जाब राज्यका सीमावर्ती बस्तीहरूमा सुरक्षा चनाखो बनाइएको छ भने स्थानीय बासिन्दा त्रासमा छन्।

बुधबार राति करिब १ः४५ बजे अमृतसरका तीन स्थानमा विस्फोट जस्तो ठूलो आवाज सुनिएको थियो। घटनापछि जिल्ला प्रशासन र प्रहरी सतर्क बनेर तुरुन्तै सक्रिय भए। सम्पूर्ण अमृतसर जिल्लामा ब्ल्याक आउट गरिनुका साथै श्री गुरु रामदास अन्तर्राष्ट्रिय विमानस्थलसमेत खाली गराएर अन्धकारमा राखिएको थियो।

advertisement

प्रहरी आयुक्त गुरप्रीत सिंहले विस्फोटको आवाज सुनिए पनि हालसम्म कुनै अप्रिय घटना नभएको जानकारी दिएका छन्। भारतीय वायुसेनाका जहाजहरू भने निरन्तर गस्तीमा छन्। स्थिति संवेदनशील बनेकाले सीमावर्ती जिल्लाहरूमा बिहीबारका लागि विद्यालयहरू बन्द गरिएका छन्।

सीमामा सक्रियता बढेपछि पञ्जाबका केही सीमावर्ती गाउँका बासिन्दाहरू सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। फाजिल्का जिल्लाको मुहर जमशेर र मनसा क्षेत्रका बासिन्दाहरूले बहुमूल्य सम्पत्ति र घरायसी सामानहरू ट्र्याक्टर–ट्रलीमा राखेर गाउँ छोडिरहेका छन्। गाईवस्तु र अत्यावश्यक सामानसहित उनीहरू सुरक्षित ठाउँ खोज्दै अन्यत्र गइरहेका छन्।

हालसम्म जिल्ला प्रशासनले गाउँ खाली गर्न कुनै आधिकारिक निर्देशन जारी नगरेको भए पनि स्थानीयहरूले स्वेच्छाले सतर्कता अपनाउँदै यस्तो निर्णय लिएका हुन्। सीमा पारबाट भइरहेको लगातार गतिविधिले डर र शङ्काको वातावरण सिर्जना गरेको उनीहरूको भनाइ छ। केही गाउँलेहरूले रातिको समयमा सीमामा शङ्कास्पद गतिविधिहरू देखिएको बताएका छन्।

यद्यपि, फाजिल्का जिल्ला प्रशासनले सुरक्षा निकायहरूसँग मिलेर परिस्थितिको मूल्याङ्कन गरिरहेको र अफवाहमा नफस्न स्थानीयहरूलाई अनुरोध गरेको छ।

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com