काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दृष्टिविहीन र परिणामविहीन रहेको बताएका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मुलुक अहिले गम्भीर आर्थिक र विकासको सङ्कटमा रहेको उल्लेख गरे। “प्रमुख आर्थिक सूचकाङ्कहरू अस्तव्यस्त छन्,” उनले भने, “रोजगारीको अभावले हजारौँ युवा विदेशिन बाध्य छन्, तर सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताको पीडामा मलहम लगाउने प्रयास गरेको देखिन्न।”
शाहीले नीति तथा कार्यक्रम केवल ‘सुख्खा भाषण’जस्तै सुनिएको टिप्पणी गरे। “अघिल्ला वर्षमा ल्याइएका जनमुखी कार्यक्रमहरू कटौती गरेर नीतिलाई भाषण मात्र बनाइएको छ,” उनले आरोप लगाए।
उनको भनाइमा, विगतको अनुभवबाट केही सिकिएको छैन। “आजको नीति तथा कार्यक्रम सात वर्षअघिको दस्तावेज जस्तै लाग्छ—काटछाँट गरेर प्रस्तुत गरिएको प्रतिलिपि मात्र हो,” उनले भने, “त्यो समयको नीति र अहिलेको आवश्यकताबीच तुलना गर्ने हो भने यो कार्यक्रम त्यसको तुलनामा पनि कमजोर छ।”
प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार












प्रतिक्रिया